१२ साउन, काठमाण्डौ ।
काठमाडौंको फोहोर व्यवस्थापन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका स्थानीयले फेरि फोहोर फाल्न अवरोध गर्ने भएका छन् । सरोकार समितिले आगामी भदौ १ गतेबाट सधैँका लागि डम्पिङ साइट बन्द गर्ने चेतावनी दिएको छ । बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फोहोरमैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष संवेदनशील क्षेत्रबाट मानव बस्तीहरु अलग गर्ने लगायत यसअघि महानगरपालिका र सरकारले स्थानीयवासीसँग गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै आगामी भदौ १ गतेबाट फोहोरका गाडीहरु ल्याण्डफिल साइटमा लैजान सधैँका लागि बन्द गरिने उनीहरुले बताएका छन् ।
बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले राज्यका सम्बन्धित अंगहरुले फोहोरमैला व्यवस्थापनका नाममा आजभन्दा करिव ५० वर्ष अघिदेखि सत्ता प्राप्तिको मुद्दा बनाएर स्थानीयलाई पीडा र समस्या दिइरहेको बताए । उनले नागरिकहरुको सम्पत्तिमा पौडी खेलेर ओखरपौवाका जनताको हक, अधिकारलाई काठमाडौं महानगरपालिका लगायतका सम्बन्धित निकायले चासो नदिएको गुनासो गरे ।
आगामी भदौ १ गतेबाट सधैँका लागि उपत्यका भित्रको फोहोरमैला बञ्चरेडाँडा र सिसडोल ल्याण्डफिल साइटमा फाल्ने कुरा इतिहासको रुपमा भदौ १ हुने समेत उनले घोषणा गरे । आउँदो दिनमा यो वा त्यो बहानामा फोहोरका लागि छुट नदिने उनले बताएका छन् । पत्रकार सम्मेलनमा स्थानीय राजन न्यौपानेले काठमाडौंमा यमबुद्धको शालिक बनाउने मेयरले फोहोर फाल्ने ठाउँका लागि किन बजेट तथा कार्यक्रम तर्जुमा नगरेको ? भन्दै प्रश्न गरे ।
उनले नयाँ र स्वतन्त्र मेयरबाट फोहोर व्यवस्थापनको आश गरेपनि त्यो सत्य हुन नसकेको बताए । उनले काठमाडौंका मेयर बालेन्द्र साहले रुटिन नेपाललाई एक करोड रुपैयाँ दिएको आरोप लगाउँदै फोहोर फाल्ने ठाउँका लागि मिठा गफ गरेको तर बजेट ल्याउँदा समेत कुनै कार्यक्रम र योजनामा उल्लेख नगरेको बताए ।मेयर साहको सिसडोलवासीको मागलाई गरेको व्यवहारप्रति आफूहरुको आपत्ति रहेको बताए ।
स्थानीयवासीहरुले मानवबस्ती रहित ल्याण्डफिलसाइट विकास क्षेत्र, फोहोरमैला प्रदुषणरहित, मानवबस्ती विकास क्षेत्र कार्यान्वयन गर्नुपर्ने माग राखेको छ । त्यस्तै ल्याण्डफिल साइटमा अस्पतालजन्य फाहोरमैला, विषाधीजन्य फोहोरमैला, मृत पशुपंक्षी फोहोरमैला, ब्याट्री, विद्युतीय सामग्रीजन्य फोहोरमैला, औद्योगिकजन्य फोहोरमैला,तेजाव तथा रसायनजन्य फोहोरमैला, होटल तथा रेष्टुराँबाट उत्पादित कुहिने फोहोरमैला प्रतिवन्ध गर्नुपर्ने माग गरेका छन् ।
त्यस्तै नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १,२,३ लाई र धादिङको धुनिबेंसी नगरपालिका १ कोल्पुखोला आधार क्षेत्रलाई विशेष संवेदनशील घोषणा गर्नुपर्ने तथा तारकेश्वर नगरपालिका ३ को त्रिशुली रोड तथा पासाङ ल्हामू राजमार्गको पश्चिम तर्फका भूभागलाई समेत संवेदनशील घोषणा गर्नुपर्ने माग गरेका छन् । एकहप्ता यता ल्यान्डफिल्ड पुग्ने सडकमा समस्या हुदा काठमाडौंको फोहोर व्यवस्थापन हुन् सकेको छैन् ।