१५ साउन,विराटनगर ।
बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न गराएको र उक्त दिनको सीसीटीभी फुटेजसमेत डिलिट गरेको आरोप लागेपछि राजीनामा दिएका जनार्दन शर्मा फेरि मनत्रीका रुपमा अर्थ मन्त्रालय फर्किने भएका छन् । शर्माले एकदिन भए पनि अर्थ मन्त्रालय फर्किन चाहेको र प्रधानमन्त्री शेरहवादुर देउवा तथा माओवादी अध्यक्ष प्रचण्डसमेत उनैलाई पुनः अर्थमन्त्री बनाउने पक्षमा देखिएपछि शर्मा फेरि अर्थमन्त्री बन्ने निश्चित भएको हो ।
माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि प्रधानमन्त्री कहाँ नाम पठाइसकेको छ । अब शर्माको शपथको कार्यक्रम राष्ट्रपतिको कार्यालयले तय गर्ने बताइएको छ । सम्भवतः शर्माले आज साँझ नै सपथ लिनेछन् । बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेपछि विवादमा आएका उनले असार २२ गते पदबाट राजीनामा दिएका थिए ।
सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो । पूर्वअर्थमन्त्री शर्माले केही व्यवसायीलाई अनुकूल हुने गरी राजस्वका दरहरू हेरफेर गरेको आरोप लागेको थियो । करको दर हेरफेर गर्न उनले बजेट भाषणको अघिल्लो रात राजस्व प्रशासनमा लामो समय काम गरेर अवकाश भएका नायब सुब्बा रघुनाथ घिमिरे र अर्का एक चार्टर्ड एकाउन्टेन्टलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको उनीमाथि आरोप लागेको थियो ।
उक्त प्रकरणमा संसदीय छानबिन विशेष समितिले उनलाई सफाई दिएको थियो । शुक्रबार बजेट निर्माणका बेला अनधिकृत मानिसहरु सहभागी भएको नपाइएको निष्कर्षसहितको प्रतिवेदन सभामुख अग्नि सापकोटालाई बुझाएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले भने फरक मत राखेका छन् । समितिले बहुमतका आधारमा प्रतिवेदन बुझाएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले शर्मामाथि छानविन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्न नसकिने बताएका छन् ।
ओलीले समितिको सो प्रतिवेदन सत्य नभएको र तथ्यमा आधारित पनि नरहेकाले त्यसलाई मान्न नसकिने बताएका हुन् । सत्तारुढ गठबन्धनकै बहुमतले तयार पारेर ल्याइएको सो प्रतिवेदनलाई नेपाली जनताले पनि अस्विकार गर्नुपर्ने तर्क उनले गर्दै आएका छन् ।अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सो प्रतिवेदन मान्य नहुने र जे सत्य हो, त्यसैमा अडिएर अघि बढने आफ्नो पार्टीको अडान रहेको समेत स्पष्ट पारेका छन् ।
समितिमा ११ जनामध्ये ७ जना आफ्ना राखेको भन्दै हुन्छ र हुन्न भनेको आधारमा सो प्रतिवेदन आएको बताएका छन् । संसदीय विशेष छानबिन समिति गठनपछि असार २२ गते पदबाट राजीनामा दिएका शर्माले पुनः सरकारमा फर्किनकै लागि पुल्चोकस्थित मन्त्री क्वार्टरसमेत अझै छाडेका छैनन् ।