२० साउन, काठमाण्डौ ।
देशका चारवटा प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एक÷ दूई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ। अहिले देशभर आंशिकदेखि सामान्य बदली छ। शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
देशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ। रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा प्रदेश नं १ र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
शनिबार देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २६ दशमलव छ डिग्री सेल्सियस छ ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव चार डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३३ दशमलव आठ डिग्री सेल्सियस छ । मुग्लिन–नारायणगढ सडक खण्ड पुनः अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारी ठूलो पहिरो गएका कारण सडक अवरुद्ध बनेको हो । दुईतर्फी सडक अवरुद्ध भएपछि सवारी साधनको लाम लागेको छ । पहिरो पन्छ्याउँदै सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।