२५ साउन, काठमाण्डौ ।
नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी फेरि एक पटक अखिल नेपाल फुटबल संघ एन्फामाथि खनिएका छन् । अल्मुताइरीले एन्फाका केही पदाधिकारीहरुले आफूविरुद्ध गलत प्रचार गरिरहेको र सम्झौता भएसम्म आफू नेपालको प्रशिक्षक रहने जनाएका छन् । उनले सम्झौता पालना नभए एन्फाविरुद्ध फिफा र एएफसीमा जाने पनि चेतावनी दिएका छन् ।
मंगलबार विज्ञप्ति निकालेर उनले आफूविरुद्ध झुटा समाचार फैलाइरहेको आरोप लगाएका हुन् । उनले नेपालको बलियो राष्ट्रिय टोली निर्माणको लागि पूर्ण प्रयास गरेको पनि दाबी गरेका छन् । अल्मुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवादबारे छानबिन गर्न गठित समितिले तयार पारेको रिपोर्ट अनुसार एन्फाले उनलाई स्पष्टीकरण माग गर्दै पत्र लेखेको थियो ।
तर, छुट्टीमा रहेका अलमुताइरीले एन्फाले पठाएको पत्रको जवाफ नदिएको भन्ने समाचारहरु प्रकाशित भएको थियो । प्रशिक्षक अलमुताइरीले एन्फाले स्पष्टीकरण सोधेको पत्र आफूले हिजो प्राप्त गरेको र वकिलसँग सल्लाह गरेर जवाफ दिने उल्लेख गरेका छन् । एन्फा महासचिव किरण राईले साउन २० गते अल्मुताइरीको विकल्प खोज्नका लागि कतार फुटबल संघ र अल्मुताइरी स्वयमंलाई पत्र काटेको बताएका थिए ।
तर, अल्मुताइरीले साउन २४ गते साँझमात्र अन्तर्राष्ट्रिय विभाग प्रमुखबाट प्रश्नसहित पत्र प्राप्त भएको बताएका छन् । त्यसअघि अल्मुताइरीले साउन २३ गते एन्फा महासचिवलाई नेपालको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबारेमा पत्र लेखेको बताएका छन् ।
त्यतिबेला आफूलाई एन्फाबाट कुनै पत्र नआएको बताएका छन् । यस्तै अल्मुताइरीले नेपालमा प्रशिक्षणलाई निरन्तरता दृढ इच्छा व्यक्ति गर्दै लेखेका छन्, ‘‘एन्फाको स्रोतलाई उद्धृत गर्दै महासचिवले पठाएको प्रश्नको जवाफ नदिएर आफूले चाहेको कुरा पठाएको समाचार पढेको छु । म यस्तो निराधार रिपोर्टिङको घोर भर्सना गर्दछु । नेपालको बलियो राष्ट्रिय टोली निर्माण गर्न मैले सधैँ आफ्नो पूर्ण प्रयास गरेको छु र मेरो सम्झौताको समय नसकिदाँसम्म निरन्तरता दिने दृढ इच्छा छ ।’’ ‘‘त्यसबाहेक, फिफाको खेलाडीको स्थिति र स्थानान्तरण २०२२ को नियमले प्रशिक्षकको रोजगारीका नियमसँग सम्बन्धित मामिलामा पनि सम्बन्ध राख्छ । जुन एन्फाले पनि पालना गर्नुपर्छ । मैले सुरुदेखि नै ‘टास्क फोर्स’ गठनको वैधानिकतामाथि प्रश्न उठाएको छु । यद्यपि, म राम्रो होस भनेर मौन रहेँ,’’ अल्मुताइरीले थपेका छन्, ‘‘मेरो वकिलको उचित सल्लाहपछि मात्र पत्र र त्यसका प्रश्नहरूको जवाफ दिनेछु ।’’
यस्तै अल्मुताइरीले २६ खेलाडीलाई प्रशिक्षणमा डाक्न पनि एन्फालाई पत्राचार गरेका छन् । अल्मुताइरीले भदौ २५ गतेबाट प्रशिक्षण सुरु गर्ने र त्यसका लागि आवश्यक प्रबन्ध मिलाइदिन महासचिव किरण राईमार्फत एन्फासँग आग्रह गरेका छन् । अल्मुताइरीले जेठमा कुवेतमा एसियन कप छनोट खेल्दाका २० खेलाडी र थप ६ गरि २६ खेलाडी प्रशिक्षणमा बोलाइदिन आग्रह गरेको बुझिएको छ ।
एसियन कप छनोट खेल्दा टोलीमा रहेका सन्तोष तामाङ र कुवेतविरुद्ध गोल गरेको दर्शन गुरुङ अष्ट्रेलिया पुगिसकेका छन् । एसियन कप छनोटमा रहेका यू २० का कप्तान आयुष घलानलाई अल्मुताइरीले बोलाएका छैनन् । अष्ट्रेलियामै रहेका जगजित श्रेष्ठसहित आफैले वैशाखमा क्याम्पबाट निकालेका अन्जन विष्ट, तेज तामाङसहित दिनेश हेम्जन र मनीष मगरलाई प्रशिक्षणमा बोलाउन अल्मुताइरीले आग्रह गरेका छन् । कुवेतमा एसियन कप छनोट खेलेपछि ३ महिनाको विदामा अल्मुताइरी उतै बस्दै आएका छन् ।