५ भदौ , एजेन्सी ।
लुका मोड्रिकको उत्कृष्ट गोलमा साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकालेको छ । रियलले सेल्टा डि भिगोमाथि ४–१ को सानदार जित दर्ता गरेको हो । सेल्टाको मैदानमा रियलको जितमा कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, भिनिसियस जुयिनर र फेडे भाल्भेर्डेले गोल गरे । खेलको १४ औँ मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमार्फत गोल गरी रियललाई सुरुवाती अग्रता दिलाएका थिए ।
२३ औँ मिनेटमा लागो आसपासले पेनाल्टीमार्फत् गोल गर्दै खेल १–१ को स्थितिमा ल्याए । यसपछि क्रोयसियाका ३६ वर्षीय खेलाडी लुकाले ४१ औँ मिनेटमा डेभिड अलाबाको पासमा २५ यार्डबाट गोल गरे । यसपछि भिनिसिअस जुनिअरले ५६ औँ मिनेटमा तेस्रो र फेडेरिको भाल्भार्डेले ६६ औँ मिनेटमा चौथो गोल गरे ।
खेल सकिन पाँच मिनेट अघि रियलले पुनः पेनाल्टी पायो । तर इडेन हजार्डको प्रहार गोलरक्षक मार्चेसिनले रोके । यस जितसँगै रियल २ खेलमा ६ अंक जोडी ला लिगाको शीर्ष स्थानमा छ । समान ६ अंक नै रहेपनि रियल बेटिस र ओसासुना गोलअन्तरमा पछि छ । पराजित सेल्टा भिगो १४ औँ स्थानमा छ । यस खेलमा ब्राजिली मिडफिल्डर क्यासमिरो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा जाने भएपछि उनलाई टोलीमा समेटिएको थिएन ।
सेल्टाविरुद्ध प्रशिक्षक कार्लाे एन्सेलोटीले फान्सेली युवा मिडफिल्डर ओरेलिएन चुआमेनीलाई मौका दिएका थिए । यस्तै शनिबार भएको अन्य खेलमा क्याडिजलाई ओसासुनाले (२–०) ले हराएको छ । यस्तै रियल बेटिसले मलोर्कालाई २–१ ले पराजित गरेको छ ।