९ भदौ , एजेन्सी ।
नेपालले आज केन्या विरुद्धको टी–२० सिरिज सुरु गर्दै छ । नेपाल र केन्याबीचको पाँच खेलको टी–२० क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदैछ । पहिलो खेल आज दिउँसो पौने ४ बजे नैरोबीमा सुरु हुनेछ । नेपाल जितका साथ विजयी सुरुवात गर्ने सोचमा हुनेछ । केन्या पनि घरेलु मैदान र वातावरणको फाइदा उठाउँदै विजयी सुरुवात गर्न चाहन्छ । विश्व टि२० आई वरियतामा नेपाल १४ औं र केन्या ३० औं स्थानमा छन् ।
नेपालले २०१३ पछि पहिलो पटक केन्यासँग टी–२० खेलमा प्रतिस्पर्धा गर्न लागेको हो ।२०१३ का दौरान रहेको नेपाली टीममा भने अहिले ज्ञानेन्द्र मल्लमात्र रहेका छन् । अधिकांश युवा अनुहारले अहिले नेपाली टिममा मौका पाएका छन् । तर भिसाको समस्याका कारण नेपालका तीन जना खेलाडीले पहिलो खेल गुमाउने भएका छन् । अलराउन्डर आदिल अन्सारी, स्पिनर बसिर अहमद र साहब आलमले आजको खेल गुमाउने भएका हुन् ।
समयमै भिसा नआउँदा प्रमुख तीव्र गतिका बलर सोमपाल कामी र विवेक यादव बुधबारमात्रै केन्यातर्फ प्रस्थान गरेका थिए । लामो यात्राको कारण आज सोमपाल र विवेकलाई नेपालले विश्राम दिनसक्छ । आदिल अन्सारी,साहब आलम र बसिर अहमद आजमात्र त्यसतर्फ जादैछन् । विकेट किपर अर्जुन साउदले आज नेपाली टोलीमा डेब्यू गर्न सक्छन् । आक्रामक ब्याटिङको क्षमता राख्ने उनलाई नेपालले छैटौं नम्बरमा खेलाउने सम्भावना छ ।
नेपालको ओपनिङ देव खनाल र आसिफ शेखले गर्ने सम्भावना छ । देवले टि२० आईमा डेब्यू गर्नेछन् । त्यसपछि ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल हुनेछन् । करण केसी नेपालको फिनिसरको रुपमा रहनेछन् । तीव्र गतिका बलरमा करण र किशोर हुनेछन् । कप्तान सन्दीप लामिछाने, पवन सरार्फ र दीपेन्द्रसिंह ऐरी स्पिनरको रुपमा हुनेछन् । आरिफ शेख मध्य गतिको बलिङमा राम्रो विकल्प हुन् ।
इफराम करिम, गुरदीप सिंह, रुषभ पटेल र शेम न्योचे केन्याका प्रमुख ब्याटर हुन् । केन्या आफ्नो विरासत फर्खाउन एउटा ठूलो मोमेन्टमको पर्खाईमा छ । घरेलु मैदानबाट नेपालसँगको सिरिज केन्याको लागि टर्निङ प्वाइन्ट बन्नसक्छ । नेपाल र केन्याबीचको दोस्रो टी–२० खेल भोलि, तेस्रो भदौ १२ गते, चौथो भदौ १३ मा र पाँचौँ खेल भदौ १४ गते हुनेछ ।
त्यस्तै नेपालले केन्यासँग तीन एक दिवसीय अभ्यास खेल पनि खेल्ने तालिका छ । तीन एक दिवसीय अभ्यास खेल भदौ १७, १८ र २० गते हुनेछ । कप्तान सन्दीप लामिछानेले बुधबार आयोजित प्रि–म्याच कन्फरेन्समा टिमको लक्ष्य सबै खेलमा जित निकाल्ने भएको बताएका छन् । नेपालले केन्याविरुद्ध यसअघि २ पटक प्रतिस्पर्धा गर्दा दुबैमा नेपालले जित निकालेको छ ।