१० भदौ , काठमाण्डौ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अनधिकृत रुपमा बनाएका काठमाडौं उपत्यकाका विभिन्न स्थानका संरचनामा डोजर लगाएको प्रति नेकपा एमालेका नेता महेश बस्नेतले असन्तुष्टि जनाएका छन् । हिजो अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएसँगै सामाजिक सञ्जालमा केही तस्वीर भाइरल भए । अल्फाबिटाका सञ्चालक द्वीराज शिवाकोटीले विभिन्न दलका नेताहरुसँग खिचाएका तस्वीर सेयर गर्दै बालेन्द्रका समर्थकले उनलाई शक्तिकेन्द्रहरुसँग नजिक रहेको आरोप लगाइरहेका छन् । एमाले अध्यक्ष केपी ओलीसँग सिवाकोटीका परिवारले खिचाएको तस्वीर सबैभन्दा चर्चामा छ । कुनै सन्दर्भमा खिचाइएको तस्वीर अहिले दुरुपयोग गरिएको भन्दै एमाले पंतिले भने प्रतिवाद गरिरहेको छ । यही सन्दर्भमा एमाले नेता महेश बस्नेत र मेयर साहको सामाजिक सञ्जालमा जुहारी नै चलेको छ । बस्नेतले अल्फाबिटा कम्प्लेक्समा महानगरले डोजर चलाएको विषयमा स्टाटस लेखेका थिए । आफू र एमाले अध्यक्ष ओलीसँग सिवाकोटीले खिचाएको तस्वीर सेयर गरेका एक व्यक्तिको स्टाटसमा कमेन्ट गर्दै उनले दुईवटा अनुमान गरेका छन् ।
उनको स्टाटस यस्तो छ ः
बालेन शाहले अल्फाबिटा कम्प्लेक्स , माथी डोजर किन लगाएको?
१. नक्सा पास अनुसार घर निर्माण नगरेको भएर?
२. हामीसँग नजिक भएर या फोटो लिएको कारण ?
पहिलो कारण हो भने जायज होला, नाजायज भएपनि सम्बन्धित पिडितहरुले कानूनी उपचार खोज्लान नै। दोश्रो कारण हो भने त हामी समेत मिलेर कसैको सन्कि र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौ ।कथित बुध्दिजीवी कल्याण जीहरुले बौध्दिक अराजकता नफिजाएकै राम्रो बस्नेतको यस्तो स्टाटस आएपछि मेयर साह मौन बसेनन् । सामाजिक सञ्जालमा चर्को समर्थन पाइरहेका उनले बस्नेतलाई कडा जवाफ फर्काए ।
त्यसमा उनले बस्नेतको घर नक्शा पास भएको छ कि छैन भन्ने प्रश्न उठाएका छन् । तर, मेयरको यो जवाफले बस्नेत भड्किएका छन् । अर्को स्टाटस लेख्दै उनी साहमाथि आक्रामकरुपमा प्रस्तुत गरेका छन् । आफ्नो घरको नक्सा सुर्यविनायक नगरपालिकामा काजमा आउन बस्नेतको चुनौति छ ।
उनले लेखेका छन्, ‘तपाईंलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सुर्यविनायक नगरपालिकामा काजमा आउनुहोला ।’ मेयर साहलाई भत्काउने र ध्वंस गरेर हिरो हुन्छु भन्ने लागेको बस्नेतको आरोप छ । उनले भनेका छन्, ‘हाम्रो तिर ध्वंस होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चढ्दैनन् ड्राइभर चढ्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोला ।’
२÷४ सय फेसबुके फ्यान भए भन्दैमा नमात्तिन बस्नेतले साहलाई सुझाएका छन् । ‘विगतमा यस्ता २÷४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन् खोज्नैपर्ने भएको छ ।’ उनले भनेका छन् । साह र बस्नेतको यो दोहोरीमा सामाजिक सञ्जालको चर्को समर्थन भने साहप्रति छ । बस्नेतको पछिल्लो स्टाटसमा अधिकांसले उनले आलोचना गरेका छन् । पछिल्ला तीन दिन लगातार अनधिकृत संरचनामा डोजर चलाउँदै आएका मेयर बालेनले भने आफ्नो अभियानलाई निरन्तरता दिने बताउँदै आएका छन् ।