१२ भदौ , विराटनगर ।
विराटनगरमा पहिलो पटक रात्रीकालीन भेट्रान्स फुटबल विराटनगरमा सुरु भएको छ । शनिबार रातिको पहिलो उद्घाटन खेलमा झापाको दुधे भेट्रान क्लब मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको पहिलो खेलमा विराटनगरको मिल्स भेट्रान क्लबलाई १ शुन्यले पराजित गर्दै झापाको टोलीले अन्तिम चारमा स्थान बनाएको हो ।
कुल ७० मिनेटको खेलमा पहिलो ३५ मिनेटको हाफमा दुवै टोली गोलरहित बराबरीमा रहेका थिए । यद्यपी, दोस्रो हाफको खेल सुरु भएसँगै वर्षाले दुधे भेट्रान क्लबका खेलाडीलाई साथ दिएको थियो । पहिलो हाफमा थकित देखिएका मिल्सको कमजोर रक्षापंक्ति चिर्दै दुधेका भीष्मप्रसाद खरेलले आकर्षक गोल गरेका थिए । झमझम वर्षासँगै खेलको ५६ औं मिनेटमा खरेलले गरेको प्रहार मिल्सका गोलरक्षकले बचाव गर्न असफल भएका थिए ।
अन्ततः सोही गोल दुधे भेट्रानको जितमा निर्णायक बनेको थियो । खेलमा निर्णायक गोल गरेका खरेललाई विराट मेघा स्पोर्ट्स क्लबका सदस्य नवीन थापा र सिजी ब्रुअरी प्रदेश १ का प्रमुख ओमकार कार्कीले संयुक्त रुपमा म्यान अफ दि म्याचको पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताअन्तर्गत आज आइतबारको खेलमा सुनसरीको दुहबी भेट्रान क्लबले मोरङको सिद्राहा भेट्रान क्लबको सामना गर्ने प्रतियोगिता संयोजक वसन्तराज अर्यालले जानकारी दिए ।
प्रतियोगितामा सहभागी ९ वटा टोलीले ४० वर्षभन्दा माथि उमेर समूहका खेलाडीलाई मैदानमा उतार्नुपर्ने प्रावधान रहेको सहसंयोजक एवं जिल्ला फुटबल संघ मोरङका महासचिव विनेश बस्नेतले बताएका छन् । विराटनगर मेघा स्पोर्ट्स क्लबका अध्यक्ष अजित सिंहका अनुशार प्रतियोगितामा विजयी टोलीले १ लाख रुपैयाँ र ट्रफी हात पार्ने छ ।