१३ भदौ , काठमाण्डौ ।
नारीहरुका लागि एक विशेष पर्वको रुपमा रहेको हरितालिका (तीज) आजबाट सुरु भएको छ । भोलिको व्रतको तयारी स्वरुप आज दर खाने दिन । दरखाने दिनसँगै चार दिने तीज पर्व सुरु भएको छ । सोमबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
विशेषगरी नेपाली नारीहरुले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा रहीआएको छ । आजभोलि महिनौँ अघि देखि नै दर खाने र रमाइलो गर्ने चलन बढ्दो छ तर तीज भन्दा एक दिन अगाडि चाहिँ परम्परागत दर खाने चलन रहिआएको मान्यता छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ ।
जसले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता राखिन्छ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज राती व्रत बस्नेहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं अडिलो परिकार दरका रुपमा खाई मङ्गलबारको व्रतका लागि पूर्वतयारी गदर्छन् । विशेषगरी माइती एवं दाजुभाईले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने परम्परा रहेको छ । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई मनाउने गरिएको छ । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् ।
तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिएको र साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरेको विश्वास गरिन्छ ।
यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत रहेकों पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयमा लाखौं महिलाको भीड लाग्ने गर्छ ।
पछिल्ला वर्षहरुमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक देखाउने चलन बढ्दै गएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको समाजशास्त्रीहरुले बताउने गरेका छन् ।