२८ भदौ ,काठमाण्डौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “समृद्ध नेपाल र सुखी नेपाली” को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेले चुनाव जित्नुपर्ने जिकिर गरेका छन ।आज मङ्गलवार पोखरामा सुरु भएको नेपाल लोकतान्त्रिक तमु सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले भने, ‘देश र जनताका साथै विकासका र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्छ ।’
अध्यक्ष ओलीले लोकतन्त्रलाई सही गन्तव्यमा डोर्याउन र संविधान कार्यान्वयन गर्नका लागि पनि एमालेले आउँदो चुनावमा एमालेको दरिलो उपस्थिति हुनुपर्ने औँल्याए । उनले बहुदलीय परिपाटीमा हुने नियमित प्रक्रियाको चुनावजस्तो नभएर आउँदो चुनाव देशमा समृद्धि ल्याउन, संविधान कार्यान्वयन गर्न महत्त्वपूर्ण रहेको पनि बताए ।
नागरिकले आत्मविश्वास गुमाउँदा देश अप्ठ्यारोमा पर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्तो स्थिति आउन दिन नहुने बताए । उनले विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै पक्षलाई एकताबद्ध हुन आग्रह गरे ।