दशैंमा कस्तो हुन्छ मौसम ?पानी पर्छ कि पर्दैन ?

३१ भदौ,काठमाण्डौ ।
यो वर्षको दशैँ आउन अब धेरै समय बाँकी छैन । असोज १९ गते विजया दशमी रहेको छ । दशैँ नजिकिसके पनि पानी पर्नेक्रम भने जारी छ । मनसुनी प्रणाली नेपालबाट बाहिरिनसकेका कारण पानी परिरहेको हो । मनसुन सामान्यतः नेपालमा औसतमा अक्टोबर २ बाट बाहिरिन्छ । तर, यो औसत समय मात्रै हो । यो भन्दा केही अगाडि वा पछाडिसम्म पनि मनसुनी वायु सक्रिय रहन सक्छ ।

यदि औसत समयमै यो वर्ष मनसुन बाहिरियो भने अक्टोबर २ अर्थात सप्तमी फूलपातीका दिन बाहिरिनेछ । विजया दशमी (टीका) अक्टोबर ५ गते पर्छ । औसत समयमै मनसुन बाहिरिए टीकाको दिन पानी पर्ने सम्भावना न्यून हुन्छ । तर, मनसुन औसत समयमै बाहिरन्छि भन्ने यकिन नहुने मौसमविद् राजु प्रधानाङले बताएका छन् । जल तथा मौसम विज्ञान विभागमा तीन दिनभन्दा लामो समयको पूर्वानुमान गर्ने प्रविधि नरहेको उनको भनाइ छ ।

“हामीसँग तीन दिनभन्दा लामो समय फोरकास्ट गर्ने टेक्नोलोजी छैन,” उनी भन्छन्, “त्यसैले यो वर्षको दसैँमा पानी पर्छ वा पर्दैन भनेर हामी अहिले नै भन्न सक्तैनौं ।” कुनै समय तीन दिनको पूर्वानुमान पनि नमिल्ने उनले बताए । “हामीले पछिल्लो समय तीन दिनको फोरकास्ट गरेका थियौं । तर, हिजो अचानक पानी पर्ने देखियो र हामीले त्यहीअनुसारको बुलेटिन जारी गर्यौं,” उनी अगाडि थप्छन्, “तीन दिन अगाडि हेर्दा हाम्रो टेक्नोलोजीले आज जुन परिमाणमा वर्षा हुुने सम्भावना छ त्यो देखाएको थिएन ।”

जुन १३ नेपालमा मनसुन भित्रिने सरदर मिति हो । तर, यस वर्ष जुन ५ मै मनसुन भित्रिएको थियो । यसैबीच देशका केही ठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार देवघाटस्थित नारायणी, दमौलीस्थित सेती, कुमालगाउँस्थित कालीगण्डकी, चिसापानी र असाराघाटस्थित कर्णाली, समजीघाटस्थित भेरी नदीमा बहाव उल्लेख्य बढ्नेछ ।

यस्तै, दिपायलस्थित पश्चिम सेती, पारिगाउँस्थित महाकाली, पधेरादोभानस्थित वाग्मती, रजैयास्थित पूर्वी राप्ती, कुसुमस्थित पश्चिम राप्ती र चेपाङस्थित बबई नदीमा बहाव उल्लेख्य बढ्नेछ । आज सिन्धुली, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, तनहुँ, धादिङ, नुवाकोट, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । नदीतटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Scroll to Top