२ असोज,एजेन्सी ।
छिमेकी राष्ट्र चीन र एसियाली राष्ट्र इन्डोनेसियाका फलाम र सुन खानीमा भएको दुर्घटनामा परेर ३४ जना मजदुरको मृत्यु भएको छ । चीनको राजधानी बेइजिङबाट करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढी पस्दा ठूलो हताहती भएको छ ।
खानी पसेको बाढीमा परि १४ जनाको मृत्यु भएको छ । एक जना हराइरहेका छन् । यो महिनाको सुरुमा त्यहाँ पसेको बाढीमा परी उक्त हताहती भएको तथा घटनास्थलमा खोज तथा उद्धारका काम स्थगन गरिएको चीनका सरकारी अधिकारीहरूले जनाएका छन् ।
खानीमा के कारणले बाढी पस्यो भन्ने बारेमा अनुसन्धान भइरहेको ताङसान नगर सरकारले एक संक्षिप्त विज्ञप्ति निकालेर जनाएको छ । हेबेइ फलाम र इस्पात खानीका निम्ति प्रसिद्ध छ । चीनमा वर्सेनि विभिन्न कारणले खानी दुर्घटना हुने गरेका छन् । ती दुर्घटनामा अधिकांश मजदुरले ज्यान गुमाएका छन् ।
उता इन्डोनेसियाको पश्चिम कालिमान्तान प्रान्तमा रहेको सुन खानीमा पहिरो जाँदा २० जना खानी कामदारहरू पुरिएका छन् । घटना बिहीबार राति बेङ्कायाङ जिल्लाको किनन्दे गाउँमा भएको भए पनि सोबारे जानकारी प्रादेशिक खोज तथा उद्धार कार्यालयका उद्धारकर्तालाई शुक्रबार राति मात्र प्राप्त भएको थियो ।
विगत केही दिनदेखि परेको अविरल वर्षा, दुर्गम स्थान र कमजोर सञ्चार सुविधाका कारण उद्धार कार्यमा बाधा पुगेको अधिकारीहरुले बताएका छन् । खानी क्षेत्रमा खोज तथा उद्धार कार्यमा सैनिक, स्थानीय विपद् व्यवस्थापन तथा न्यूनीकरण निकायका कर्मचारी र गाउँले पनि संलग्न रहेको स्थानीय संचारमाध्यामहरुले बताएका छन् ।
खानीमा पहिरो गएको र उद्धार कार्यपनि ढिलो गरी सुरु भएकाले मजदुरहरु जिवितै भेटिने संभावना कम रहेको बताइएको छ । यद्यपि उद्धारटोलीमा सम्लग्न अधिकारीहरुले भने मजदुरहरुलाई युद्धस्तरमा काम गरी जिवितै उद्धार गर्ने प्रयास भईरहेको बताएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले बताएका छन् ।
गएको अप्रिलमा, उत्तरी सुमात्रा प्रान्तमा अवैध सुन खानीमा १२ महिला खानी कामदारको पहिरो जाँदा मृत्यु भएको थियो। गत वर्ष, सुलावेसी टापुको परीगी माउटोङमा अर्को अनाधिकृत सुन खानी भत्किँदा छ जना कामदारको मृत्यु भएको थियो। यसअघि सुमात्रामा २०२० मा भारी वर्षाका कारण पहिरो खस्दा ११ खानी कामदारको मृत्यु भएको थियो।