१७ असोज, काठमाण्डौ ।
मनास्लु हिमालमा फेरि हिमपहिरो गएको छ । पहिरो जाँदा बेपत्ता भएका एकजना अझै भेटिएका छैनन् । जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालका अनुसार आइतबार दिउँसो खसेको हिमपहिरोमा परी एकजना बेपत्ता भएका हुन् ।
गोरखाकै चुमनुव्री गाउँपालिका–१ स्थित क्षेत्रमा हिमपहिरो खसेको उनले जानकारी दिएका छन् । अहिले दुई हेलिकोप्टरको सहायतमा बेपत्ताको खोजीकार्य जारी रहेको उनले बताएका छन् । उनका अनुसार सिम्रिक र एभरेस्टको हेलिकोप्टरबाट उद्धारकर्ता बेपत्ताको खोजीमा जुटेका छन् ।
हिमाल आरोहीका नेपाली सहयोगी बेपत्ता भएका हुन् । उनको परिचय खुल्न बाँकी रहेको एसपी खनालले जानकारी दिएका छन् । उनका अनुसार मनास्लुको दोस्रो बेसक्यापबाट पहिलो बेसक्यामतर्फ हिमपहिरो खसेको हो ।
हिमपहिरोको समयमा त्यहाँ चारजना रहेका थिए । तीनजना भने सकशुल फिर्ता भएको उनले बताएका छन् । सोमबारै बिहान पनि सो क्षेत्रमा हिमपहिरो खसेको छ । त्यसक्रममा केही टेन्टमा क्षति पुगेको छ। आज बिहान करिब ९ बजेतिर हिमपहिरो खसेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिएका छन् ।
उनका अनुसार गोरखाकै चुमनुव्री गाउँपालिका–१ स्थित पहिलो बेसक्याम्पमा हिमपहिरो खसेको हो । हिमपहिरोले त्यहाँका केही टेन्टमा क्षति पुगेको उनले बताएका छन् । हिमालमा यस किसिमका सानोतिनो पहिरो खस्नु सामान्य भएको उनको भनाइ छ ।
यसअघि, यही असोज १० गते बेसक्याम्प–३ मा हिमपहिरो खसेको थियो । आज खसेको हिमपहिरो बेसक्याम्प–१ म रहेको बरालले बताएका छन् । असोज १० गते मनास्लुको तेस्रो बेसक्याम्पमा हिमपहिरो खसेको थियो । त्यति बेला एकजनाको मृत्यु र केही व्यक्ति घाइते भएका थिए ।