२० असोज, एजेन्सी ।
नर्वेजियन स्ट्राइकर इर्लिङ हालान्डले गोलको वर्षा कायमै राखेका छन् । गएराति घरेलु मैदानमा भएको खेलमा एफसी कोपनहेगनविरुद्ध म्यानचेस्टर सिटीलाई ५–० को फराकिलो जित दिलाउने क्रममा हालान्डले पहिलो हाफमै २ गोल गरे ।
प्रिमियर लिगमा म्यानेचस्टर युनाइटेडविरुद्धको खेलमा ह्याट्रिक गरेका उनले च्याम्पियन्स लिगमा पनि जादुयी प्रदर्शनलाई यथावत राखेका हुन् । उनले खेलको सातौँ मिनेटमा गोलको खाता खोले । त्यसपछि खेलको ३२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–० ले अघि बढाए ।
त्यसपछि कोपनहेगनका डेभिट खोचोलाभाले आत्मघाती गोल उपहार दिँदा सिटी ३–० ले अघि बढ्यो । तर दोस्रो हाफमा हालान्डलाई प्रशिक्षक पेप ग्वार्डिओलाले आराम दिए । दोस्रो हाफमा सिटीका लागि रियाद महारेजले ५५ औँ मिनेटमा पेनाल्टीबाट गोल गरे ।
त्यसपछि अर्जेन्टाइन युवा स्ट्राइकर जुलियन अल्भारेजले खेलको ७६ औँ मिनेटमा गोल गर्दै सिटीलाई ५–० को फराकिलो जित पक्का गरे । एकपक्षीय यो जितपछि सिटी समूह एचमा तीन खेल जित्दै ९ अंकसहित शीर्ष स्थानमा कायमै छ ।
यस्तै चेल्सीले च्याम्पियन्स लिगमा पहिलो जित दर्ता गरेको छ । बुधबार इटालियन सिरी क्लब एसी मिलानलाई ३–० ले हराएको छ । समूहमा ३ खेलमा चेल्सीको ४ अंक पुगेको छ । टोली अंक तालिकाको दोस्रो स्थानमा छ । शीर्षस्थानको एफसी साल्बर्गको ५ अंक छ ।
तेस्रो स्थानको मिलानको पनि ४ अंक छ भने पुछारको डिनोमो जागरेभको ३ अंक छ । समूह इको अर्को खेलमा पहिलो जित निकाल्ने क्रममा साल्जबर्गले जागरेभलाई १–० ले हराएको थियो । यता पेरिस सेन्ट जर्मेन (पिएसजी) बुधबार राती बेन्फिकासँग १–१ को बराबरीमा रोकिएको छ ।
लियोनल मेस्सीले च्याम्पियन्स लिगमा अर्को कीर्तिमान बनाएपनि पिएसजीलाई च्याम्पियन्स लिग खेलमा जितका लागि पर्याप्त रहेन । नेयमार र केलियन एमबाप्पेले चखालीपूर्ण प्रदर्शन गर्दै निकालेको पासमा मेस्सीले २२ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए ।
त्योसँगै च्याम्पियन्स लिगमा ४० टोलीविरुद्ध गोल गर्ने मेस्सी पहिलो खेलाडी बनेका छन् । डानिलो पिरिराले ४१ औं मिनेटमा आत्मघाती गोल गर्दा खेलमा १–१ बराबरी भएको थियो । बराबरीका बाबजुद गोलअन्तरका आधारमा पिएसजी शीर्षस्थानमा रहेको छ ।
पिएसजी र दोस्रो स्थानको बेन्फिकाको सामन ७ अंक छ । तेस्रो स्थानको युभेन्ट्सको ३ अंक छ । यस्तै रियल म्याड्रिडले च्याम्पियन्स लिगमा लगातार तेस्रो जित निकालेको छ । घरेलु मैदानमा गएराती भएको खेलमा साख्तार डोनेस्कलाई २–१ ले हराउँदै रियलले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको हो । यो जितसँगै रियलले समूहमा ५ अंकको अग्रता बनाएको छ ।