२८ असोज , काठमाण्डौ ।
उद्यम व्यवसायको क्षेत्रमा देशविदेशमा सफलता पाएका उद्यमी व्यवसायीले यसपाली पनि नेताहरुसँग चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उद्यमी व्यवसायीहरु चुनावी प्रतिस्पर्धामा सहभागी भएका हुन् ।
यस्ता उद्योगी व्यवसायीमध्ये आसन्न चुनावमा नेपालका एक मात्रै अर्बपति विनोद चौधरी प्रतिनिधिसभातर्फको नवलपरासी–१ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन् । ६७ वर्षीय चौधरीलाई सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसले उम्मेदवार बनाएको हो ।
नेपालबाट उदाएर बहुराष्ट्रिय कम्पनीहरु संचालन गर्ने चौधरी ग्रुपका अध्यक्ष समेत रहेका चौधरी यसपालि चतुर राजनीतिक खेलाडी हृदयेश त्रिपाठीसँगको प्रतिस्पर्धामा उभिएका छन् । अर्बपति व्यवसायी चौधरीसँग संसद फेस गरेको अनुभव १० वर्षभन्दा पुरानो छ ।
तर जनताबाट प्रत्यक्ष चुनाव जितेर नभई समानुपातिकको सिढी चढेर उनी माननीय बनेका छन् । उनी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट सभासद भएका थिए ।
त्यसपछि २०७४ मा भएको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट समानुपातिकको सांसद भए । अहिले उनी नेपाली काँग्रेसको केन्द्रीय सदस्य पनि हुन् । चौधरीसँग प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फको निर्वाचन लडेको अनुभव छैन ।
उनी पहिलो पटक प्रत्यक्ष तर्फको निर्वाचन लड्दै छन् । उनी निर्वाचन लड्न लागेको नवलपरासी जिल्ला भने चौधरीका लागि नौलो होइन । र, सो जिल्लाका मतदाताका लागि पनि चौधरी नयाँ पात्र पनि होइनन् । किनभने नवलपरासीमा चौधरी ग्रुपका धेरै उद्योग प्रतिष्ठानहरु छन् ।
त्यसैको आडमा चौधरी त्यस क्षेत्रमा मतदाताको मन जित्ने प्रयासमा छन् । उनले सो क्षेत्रमा सामाजिक, विकास, पूर्वाधार र रोजगारीका कामहरु धेरै गरेको स्थानीयहरु बताउँछन् । तर, व्यवसायिक जगतका सफल खेलाडी चौधरीलाई राजनीतिक जगतका चतुर खेलाडी हृदयेश त्रिपाठीसँगको प्रतिस्पर्धा आफैमा उनले सोचे जस्तो धेरै सहज नहुन सक्छ ।
गत निर्वाचनमा एमालेको समर्थनमा सोही क्षेत्रबाट निर्वाचित सांसद त्रिपाठीले यसपाली पनि एमालेको समर्थन पाएका छन् । २०७४ को चुनावमा एमालेको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका त्रिपाठीले यसपटक भने आफ्नै दल जनता प्रगतिशील पार्टीको चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्दैछन् ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि पटक पटक मन्त्री र संसदीय समितिहरूको सभापति हुने मौका पाएका त्रिपाठी राजनीतिक रुपमा कमजोर खेलाडी भने होइनन् । मुख्य गरेर चौधरी र त्रिपाठीबीच प्रतिस्पर्धा हुने विश्लेषण गरिएको सो क्षेत्रबाट विभिन्न १० वटा पार्टीका र स्वतन्त्र ७ गरी १७ उम्मेदवारले प्रतिनिधिसभामा निर्वाचित हुन जनतामाझ पुगिरहेका छन् ।