१९ कात्तिक, काडमाण्डौ ।
दार्चुलाबाट चुनावी अभियान थालेका एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यहाँ पुगेर चुच्चे नक्सा देखाउँदै भोट मागे । ओलीले आफू नेतृत्वको सरकारले गुमेको भूभाग समेटेर नयाँ नक्सा बनाएको, त्यसका लागि संविधान संशोधन गरेको र नेपाली भूभाग फिर्ता गर भन्दै भारतसँग पत्राचार गरेको बताउँदै गुमेको भुभाग फिर्ता ल्याउन पनि एमालेलाई जिताउन आह्वान गरे ।
यस्तै ओलीले सभाबाटै ‘त्यो कुरा कहाँ पुग्यो ? त्यो बोल्न सक्नु हुन्छ कि हुन्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे । लगत्तै, ओलीले सत्तारुढ गठबन्धनले नयाँ नक्सामा समेटिएको भूमि फिर्ता गराउन नसक्ने पनि निष्कर्ष सुनाए । यस्तै ओलीले सात वर्ष अगाडिको भारतीय नाकाबन्दीका बेला एमालेले खेलेको भूमिका सम्झेर मतदान गर्न आग्रह गरे ।
उनले अहिलेको सत्तारुढ गठबन्धनका नेताहरु भारतीय हस्तक्षेपविरुद्ध बोल्न नसक्ने आरोप पनि लगाए । ओलीले त्यो बेलाको नाकाबन्दीलाई तीन वर्ष अगाडि जारी भएको नेपालको नयाँ नक्सासँग जोडेका हुन् । प्रचार अभियानको थालनी दार्चुलाबाट गर्नुले पनि यो चुनावमा एमाले नयाँ नक्साको एजेण्डा लिएर जान चाहेको अनुमान लगाउन सकिन्छ ।
दार्चुलाबाट आफूसहित सत्ता गठबन्धनका नेताहरुमाथि ओलीले आरोप लगाउँदा डडेल्धुराबाट प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले जवाफ फर्काएका छन् । शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै देउवाले ओलीले दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा नआउने बताए ।
उनले भने– ‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा आउँछ ? कि लड्नुपर्यो । बन्दुक ल्याउनुहोला । होइन भने कुटनैतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो । भाषण त काठमाडौं बसेर भारत नै हाम्रो भनिदिनसक्छौँ ।’ यस्तै देउवाले ओलीतर्फ संकेत गर्दै षडयन्त्रपूर्ण ढंगले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद विघटन गरिएको र त्यसका विरुद्धमा गठबन्धन बनेको बताए ।
उनले भने– ‘षड्यन्त्रपूर्ण तरिकाले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाए संसद विघटन गर्नुभयो । त्यसका विरुद्धमा गठबन्धन बनेको हो । त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्छ ।’ यता प्रचार अभियानमा ओलीले नयाँ नक्साबारे चर्को अभिव्यक्ति दिए पनि एमालेको घोषणापत्रमा भने सन्तुलित प्रतिबद्धता गरिएको छ ।
ओलीले भनेजस्तो भूमि फिर्ता ल्याउने ग्यारेन्टी घोषणापत्रमा छैन । १५ कात्तिकमा जारी घोषणापत्रको पाँच ठाउँमा लिम्पियाधुरा, लिपुलेक र कालापानीको प्रसंग छ । तर प्रशासनिक–राजनीतिक नक्सामा राखिएको भूमि फिर्ताबारे प्रष्ट कुरा गरिएको छैन ।
तर ओलीले शुक्रबार सुदूरपश्चिमका तीनवटै सभामा चुच्चे नक्सालाई लिएर अहिलेको सत्ता गठबन्धनसंगै भारतविरुद्ध चर्को अभिव्यक्ति दिए हुन् । उनले भारतलाई यति विशाल भएपनि सीमाना सार्दै लगेकोमा असन्तुष्टि जनाए । ओलीले भने, ‘नेपाली जनताले यसलाई थिचोमिचोका रुपमा बुझ्छन् । त्यो कुरा भारतले गर्नु हुँदैन ।’ एक इन्च पनि भूमि मिच्न नदिने ओलीको चेतावनी छ । ओलीको यो चेतावनीलाई भारतीय मिडियाहरुले पनि छापेका छन् ।