२२ कात्तिक, एजेन्सी ।
अधिक चिसो र हिमपात समेत हुने युरोपमा सन् २०२२ मा तातो मौसमका कारण कम्तीमा १५ हजार मानिसको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुशार तातो हावाबाट सबैभन्दा बढी स्पेन र जर्मनी प्रभावित भएका छन् ।
जुनदेखि अगस्टसम्मको तीन महिना रेकर्डहरू सुरु भएदेखि युरोपमा सबैभन्दा तातो थियो र असाधारण रूपमा उच्च तापक्रमले महाद्वीप मध्य युगपछिकै सबैभन्दा खराब खडेरीको साक्षी बन्यो ।
डब्ल्यूएचओका युरोपका क्षेत्रीय निर्देशक हान्स क्लुगेले एक विज्ञप्तिमा भनेका छन्, “अहिलेसम्म पेस गरिएको देशको तथ्यांकका आधारमा यो अनुमान गरिएको छ कि तातो हावाका कारण सन् २०२२ मा कम्तीमा १५ हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ’ ।
गर्मीको ३ महिनामा स्पेनमा करिब ४ हजार पोर्चुगलमा १ हजारभन्दा बढी, बेलायतमा ३२ सय भन्दा बढी र जर्मनीमा ४ हजार भन्दा बढीको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले रिपोर्ट गरेका छन् । यो वर्ष गर्मी याममा युरोपका विभिन्न भागमा उच्च तापक्रम मापन भएको छ भने डढेलोका कारण हजारौँ मानिस प्रभावित भएका छन् ।
स्पेनमा दर्जनौँ स्थानमा डढेलो लाग्यो भने फ्रान्समा हजारौँ मनिसहरू घर छोड्न बाध्य भएका थिए । लन्डन फायर ब्रिगेडले थुप्रै स्थानमा आगो निभाउनुपरेको थियो । यूकेमा बढ्दो तापक्रमले रेकर्ड तोड्यो । धेरै स्थानमा यातायात अवरुद्ध भएका थिए । वैज्ञानिकहरू युरोपमा फैलिएको उष्णलहरको कारण जलवायु परिवर्तन भएको बताउँछन् ।