३ मंसिर,एजेन्सी ।
उत्तर कोरियाका शासक किम जोङ उनले पहिलो पटक आफ्नी छोरी सार्वजनिक गरेका छन् । देशको सबैभन्दा ठूलो ब्यालेस्टिक मिसाइलको प्रक्षेपणको निरीक्षण गर्न किमले छोरीसंगै लिएर गएको तस्बिर सार्वजनिक भएको छ । सो तस्बिरहरुमा किमले छोरीको हात समातिरहेका देखिन्छन् ।
उत्तर कोरियाले शुक्रबार ह्वासोङ–१७ इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आइसीबीएम) परीक्षण गरेको सरकारी समाचार एजेन्सी केसीएनएले शनिबार जनाएको छ । कार्यक्रममा सबैभन्दा ठूलो आश्चर्य किमकी छोरीको उपस्थिति थियो । उनलाई पहिले कहिल्यै सार्वजनिक रुपमा देखिएको थिएन ।
केसीएनएले ती बालिकाको नाम बताएको छैन जो सेतो कोटमा आफ्नो बुवाको हात समातेर मिसाइल हेरिरहेकी छिन् । यसको फोटो सार्वजनिक गरिएको छ । ‘किम जोङलाई पहिलो पटक कुनै सार्वजनिक कार्यक्रममा छोरीसँग देखिएको यो पहिलो घटना हो,’ वासिसङ्टन स्टिम्सन सेन्टरका उत्तर कोरियाली नेतृत्व विशेषज्ञ माइकल म्याडेनले बताए ।
किमका तीन सन्तान भएको बताइन्छ । सन् २०१३ मा सेवानिवृत्त अमेरिकी बास्केटबल स्टार डेनिस रोडम्यानले किमकी छोरीको नाम जू ए भएको बताएका थिए । त्यस वर्ष उत्तर कोरियाको यात्रापछि रोडम्यानले गार्जियनसँगको कुराकानीमा उनले किम र उनको परिवारसँग समय बिताएको र बच्चालाई बोकेको बताएका थिए ।
‘जू ए लगभग १२–१३ वर्ष उमेर भएको अनुमान गरिएको छ, जसको अर्थ लगभग चार देखि पाँच वर्षमा उनी विश्वविद्यालयमा जान वा सैन्य सेवामा जाने तयारी गर्दैछिन्, ’ म्याडेनले भने । ‘यसले उनलाई नेतृत्वमा जान शिक्षित र तालिम दिनेछ भन्ने संकेत गर्छ, यो उनको लागि केन्द्रीय नेताको पद ग्रहण गर्ने तयारी हुन सक्छ वा उनी फूपू जस्तै सल्लाहकार र पर्दा पछाडिको खेलाडी बन्न सक्छिन,’ उनले भने ।
उत्तर कोरियाले किमलाई अक्षम भएको अवस्थामा उत्तराधिकारी को हुनेछ भनेर कहिल्यै घोषणा गरेको छैन । उनका साना छोराछोरीहरूका बारेमा केही विवरणहरू थाहा भएसँगै, विश्लेषकहरूले उत्तराधिकारी लिनको लागि पर्याप्त उमेर नहुँदासम्म उनकी बहिनी र वफादारहरूले स्थिति सम्हाल्छन् भन्ने अनुमान गरिएको थियो ।
यसैबीच जापानको रक्षा मन्त्रालयले उत्तर कोरियाको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) अमेरिकासम्म प्रहार गर्न सक्ने किसिमको रहेको बताएको छ । उत्तर कोरियाले परीक्षण गरेको आईसीबीएम जापानको होक्काइडो भन्दा २१० किलोमिटर पश्चिमतर्फ खसेको थियो । अमेरिकाले उत्तर कोरियाको परीक्षणको निन्दा गरेको छ ।
साथै दक्षिण कोरियाले पनि उत्तर कोरियाविरुद्ध कडा कदम चालिन सक्ने चेतावनी दिएको छ । बिहीबार उत्तर कोरियाका विदेशमन्त्री चोए सोन हुईले कोरियाली प्रायद्वीपमा अमेरिकी सेनाको उपस्थितिबारे आपत्ति जनाउँदै उक्त आईसीबीएम परीक्षण गरिएको बताएका छन् ।
बिहीबारै उत्तर कोरियाले अर्को छोटो दूरीको मिसाइल पनि परीक्षण गरेको थियो । यसअघि गत आइतबार दक्षिण कोरियाली राष्ट्रपति यून सुक येओल र अमेरिकी समकक्षी जो बाइडेनबीच भेटवार्ता भएको थियो । उक्त वार्तामा अमेरिका र दक्षिण कोरियाबीचको सैन्य सहकार्य बढाउँदै लैजाने सहमति भएको थियो ।
उत्तर कोरियाले भने दक्षिण कोरिया र अमेरिकाबीचको सैन्य सहकार्यको लामो समयदेखि विरोध गर्दै आएको छ । पछिल्लो दुई महिनामा मात्र उत्तर कोरियाले ५० भन्दा धेरै मिसाइल परीक्षण गरिसकेको छ । यद्यपि अधिकांश मिसाइल छोटो दूरीका थिए ।
अहिले परीक्षण गरेको लामो दूरीको आईसीबीएम भने अमेरिकाको लागि उत्तर कोरियाको ठूलो चुनौतीको रुपमा हेरिएको छ । उत्तर कोरियाको आईसीबीएमले ६१ सय किलोमिटरको उचाइ र एक हजार किलोमिटरको दूरी पार गरेको बीबीसीले उल्लेख गरेको छ ।
यदि सही कोणमा यो मिसाइल प्रहार गर्ने हो भने यसले अमेरिकासम्म प्रहार गर्न सक्ने जापानले बताएको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले भने उत्तर कोरियालाई यस किसिमका गतिविधि स्वीकार्य नरहेको भन्दै यसअघि नै चेतावनी दिइसकेको उल्लेख गरेका छन् । पछिल्लो समय अमेरिकाको विषयलाई लिएर उत्तर र दक्षिण कोरियाबीचको तनाव बढेको छ ।