३ मंसिर, काठमाण्डौ ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–ट्वान्टी लिगको खेल तालिकाका सार्वजनिक गरेको छ । क्यानले मंसिर २६ गतेदेखि प्रतियोगिता सुरु हुने बताएको छ । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेर्जसले प्रतिस्पर्धा गर्नेछन् । सोही दिन हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेडले प्रतिस्पर्धा गर्नेछ ।
त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको फाइनल खेल पुस १६ गते हुनेछ । यसअघि कात्तिकमा हुने भनिएको प्रतियोगिता सुरक्षाका कारण सारिएको थियो । प्रतियोगितामा ६ टोलीहरूको सहभागिता रहनेछ । होम एण्ड अवेको आधारमा हुने प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न टिमको सहभागिता रहनेछ ।
यसैबीच नेपाल टि २० लिगका लागि लुम्बिनी अल स्टार्सले दक्षिण अफ्रिका अलराउन्डर बलर काल्भिन स्याभेजलाई अनुबन्धन गरेको छ । लुम्बिनी अल स्टार्सले अष्ट्रेलिया स्टार अलराउन्डर बेन कटिङको स्थानमा काल्भिनलाई टोलीमा अनुबन्ध गरेको हो । काल्भिनले ६९ प्रथम श्रेणी, ५२ लिष्ट ए र १९ टि२० क्रिकेट खेलेका छन् ।
दक्षिण अफ्रिका यू१९ टोलीबाट खेलि सकेका काल्भिन अलराउन्डर हुन् । २०१२ को यू१९ विश्वकपमा दक्षिण अफ्रिकाबाट खेलेका थिए । प्रथम श्रेणीमा १ सय ७९ विकेट लिनुको साथै २ हजार ३ सय ४३ रन बनाएका छन् । जसमा दुई शतक हानेका छन् । लिष्ट ए मा ६४ विकेट लिँदा १ हजार १ सय १४ रन बनाएका छन् ।
तीव्र गतिको बलिङसँगै उनी तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । पार्टटाइम विकेटकिपर समेत हुन् । लुम्बिनीको टोलीमा अन्य विदेशी खेलाडीहरुमा लाहिरु मिलान्था, नुवान थुसरा, विपुल शर्मा, प्याट ब्राउन र रहकीम कर्नवाल छन् ।
यस्तै नेपाली नेपाली खेलाडीहरुमा दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, कुशल भुर्तेल, गुलशन झा, सागर ढकाल, योगेन्द्रसिंह कार्की, किशोर महतो, तिलकराज भण्डारी, सुनिल धमला, आकाश चन्द र ईशान पाण्डे रहेका छन् । लुम्बिनीले डिसेम्बर १२ मा फार वेस्ट युनाइटेडसँग खेल्दै प्रतियोगितामा सुरुवात गर्नेछ ।