बिहे भोजले बिरामी परेकाको  who  ले अनुसन्धान थाल्यो

बिहे भोजले बिरामी परेकाको  who  ले अनुसन्धान थाल्यो

२७ मंसिर,काठमाण्डौ ।

बिहे भोज खाएपछि दुई सय बढी बिरामी परेको पाल्पाको चिर्तुङधारा घोरबन्दामा विश्व स्वास्थ्य संगठन र इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट अनुसन्धान सुरु गरेको छ । विश्व स्वास्थ्य संगठनबाट डा. मोना प्रधान, डा. प्रनित शर्मा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट डा. शैलेश पन्थी, डा. रविन गौतम लगायतको टोलीले बिहे भोज खाएको घरको पानी, खाद्यान्न लगायत गाउँका बिरामीसँग सोधपुछ तथा अनुसन्धान गरिहेको हो ।

तीन दिनदेखि टोलीले गाउँका बिरामीसँग सोधपुछ गर्ने, ल्याब रिपोर्ट अध्ययन गर्ने, नमुना संकलन गर्ने कार्य गरेको बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेय लगायतको टोलीसमेत झाडापखाला फैलिएको गाउँमा अध्ययनका लागि आएर फर्किएको छ ।

विश्व स्वास्थ्य संगठन र रोग नियन्त्रण महाशाखाबाट आएको टोलीले गाउँपालिकाका स्वास्थ्यकर्मीका साथै कर्मचारी, मिसन अस्पताल, स्वास्थ्य कार्यालय, स्वास्थ्यकर्मी लगायतसँग बिरामी हुनुको कारण खोजी गर्दै अन्तरक्रिया गरेको उनले बताए । मंसिर १७ गते बिहेभोज खाएपछि बगनासकाली गाउँपालिकाका–१, चिर्तुङधाराको घोरबन्दा क्षेत्रका झन्डै सय बढी घरपरिवारका १ सय ५० बढी बिरामी परेका थिए ।

एक जनाको अझै पनि तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । अन्य केही बिरामी अझै पनि प्रभावित छन् । अधिकांश बिरामी सामान्य अवस्थामा फर्किएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए । बिहेमा भोज खाएपछि बिरामी परेकाहरुमा पखाला नरोकिने, सुख्खापन आउने, ज्वरो आउने समस्या देखिएको थियो । गाउँकै दानबहादुर गाहाको छोरीको बिहेभोज खाएकाहरु प्रायः सबैलाई समस्या देखिएको हो ।

निम्तो मान्न आएका छिमेकी गाउँ र प्यूठानबाट आएका ४५ जना जन्ती पनि बिरामी परेका थिए । चिर्तुङधारास्थित बुढाखान्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल लगायत घोरबन्दा गाउँमा बढी समस्या देखिएको थियो । स्वास्थ्य कार्यालयले बिहे भोजमा प्रयोग भएका दुई वटा ड्रमको पानी जााच गर्दा कोलिफर्मका किटाणु भेटिएको थियो भने मिसन अस्पतालमा बिरामीको दिसा जाँच गर्दा आउँका किटाणु भेटिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.