७ माघ, काठमाडौं ।
काठमाडौं महानगरपालिका(३२ कोटेश्वरको सहयोगीनगरमा कोइला बालेर आगो ताप्ने क्रममा चार जना निसासिएर गम्भीर बिरामी भएका छन् ।शुक्रबार राति ८ बजेतिर कुमार खत्रीको घरको पाँचौ तल्लाको कोठामा झ्याल ढोका बन्द गरी कोइला बालेर आगो ताप्दा श्वासप्रश्वासमा समस्या भई निसासिएको प्रहरीले जनाएको छ ।
बिरामी ९० वर्षीया छलमाया खत्री, ७० वर्षीया सिलमाया कटुवाल, २४ वर्षीया प्रमिला खत्री र उनको ३५ दिनको छोरा श्रीयाल खड्का रहेका छन् ।घटना भएको थाहा हुनेबित्तिकै प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उद्धार गरि उनीहरूलाई सिभिल अस्पताल पुर्याएको थियो ।अहिले तीन जनाको सिभिल अस्पतालकै आईसीयू कक्षमा उपचार भइरहेको छ भने छलमायालाई छाउनीस्थित नेपाली सेनाको अस्पतालमा रिफर गरिएको छ ।