९ माघ, एजेन्सी ।
इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल विजयी भएको छ । गएराति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । इमिरेट्स स्टेडियममा भएको खेलमा सुरुआती अग्रता बनाए पनि त्यसलाई कायम राख्न नसक्दा युनाइटेड पराजित भयो ।
खेलको १७औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २४औं मिनेटमा एड्डी एनकेटीहले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए । यस्तै, खेलको ५३औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए ।
खेलको ५९औं मिनेटमा युनाइटेडका लिसान्द्रो मार्टिनेजले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । खेलको इन्जुरी समयमा आर्सनलका एनकेटीले दोस्रो गोल गर्दै ३–२ को जित दिलाए । जितसँगै आर्सनलले १९ खेलमा ५० अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २० खेलमा ४५ अङ्क छ ।यस्तै गएराती नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले वुल्भस्लाई हराएको छ ।
सिटीले वुल्भस्लाई ३–० गोलले हराएको हो । सिटीको जितमा इर्लिङ हालान्ड नायब बने । उनले ह्याट्रिक गरे । खेलको ४०, ५० र ५४ औँ मिनेटमा हालान्डले गोल गर्दै ह्याट्रिक पूरा गर्दा सिटीले ३–० को जित निकालेको हो ।जितसँगै सिटीले २० खेलमा ४५ अङ्क जोडेको छ । यस्तै, राति नै भएको अर्को खेलमा लिड्स युनाइटेड र ब्रेन्टफ्रोडले गोलराहित बराबरी खेलेका छन् ।