तोसिमाले प्रेमलाई भेट्नुको कारण खुलाइन

१३ माघ, काठमाण्डौ ।
काठमाडौं संसद भवन अगाडि आत्मदाह गरेका प्रेम प्रसाद आर्चायलाई किर्तिपुरस्थित वर्न अस्पतालमा भेट्न गएको बेला भिडिओ खिचेको भन्दै चौतर्फी आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले उनका भेट्न जानुको कारण र तत्कालीन अवस्थाबारे प्रष्टीकरण दिएकी छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफूले भिडिओ नखिचेको प्रष्टीकरण दिएकी हुन् । उनले भिडिओ कसले खिच्यो भन्ने बारेमा आफूलाई जानकारी नभएको समेत बताएकी छन् । उनले फेसबुकमा लेखेकी छन् ,‘खबर सुन्ने बित्तिकै हतार हतार म र मेरो स्वकिय मात्र गएका थियौँ । हामी अस्पतालको गेटमा पुग्दा नै त्याहाँ उपस्थितहरुले ओहो राज्यमन्त्री आउनुभयो भन्दै हामीलाई माथि आइसीयूसम्म पुर्याउन आउनुभयो ।

ड्युटीको डाक्टर भने आइसीयूको ढोकासम्म मलाई लिन आउनुभएको थियो । अहिले सबैको हात–हातमा मोबाइल भएको अवस्थामा तत्पश्चात त्यहाँ भित्र को कसलाई छिर्न दिइयो, को को छिर्यो , को छिरेन , को बिरामीको अभिभावक, को मिडिया थियो हामीलाई थाहा पनि भएन र कसले कहाँ कसरी किन कहाँबाट भिडियो खिच्यो त्यसबारेमा हामी जानकार पनि छैनौं यदि मिडिया बाजी नै गर्नु थियो त त्यहाँ अन्य भिजिटरहरुले मास्क नलाउनुभएको अवस्थामा म आफू पनि मास्क खोलेरै चिनिएरै फोटो खिचाउँथे होला ।’

आइसीयू प्रोटोकल पालना नगरेको भन्ने आरोप लागिरहेको बेला उनले आफूले आइसीयू प्रोटोकल पालना गरेको समेत बताएकी छन् । उनले भनेकी छन्,‘जलेर मृत्युको मुखमा पुगेको बिरामीलाई तर म आफू पनि शल्यचिकित्सकको नाताले आइसीयू भेट्न जान मलाई कुनै ठूलो प्रक्रिया आवश्यक थिएन ।’ उनले ज्यान गुमाइसकेका व्यक्तिको मृत्यु माथि राजनीति नगर्न आग्रह समेत गरेकी छन् ।

उनले थप लेखेकी छन्, राज्य छैन भनेर आत्मदाहसम्मको प्रयास गरेका यो देशको नागरिकलाई ‘ऊ चाँडै नै यो संसार छोड्दैछ’ भन्ने थाहा भएरै उहाँका आँखाहरु सधैँका लागि बन्द हुनु अगावै, उहाँका बोली सधैँको लागि रोकिनु अगावै… म उहाँलाई भेट्न पुगेको थिएँ। भोलिपल्ट बिहानै उहाँ बित्नुभएछ। धन्न मैले ढिला गरिनछु…। प्रेमसँगको संवाद बारेपनि राज्यमन्त्री तोसिमाले लेखेकी छन् , राज्य छ नि, हामी थियौँ नि, किन यस्तो गर्नुभयो दाजु भन्दै गर्दा उहाँले थप केही भन्नुभयो।

१) रवि सरलाई भनिदिनुस् है– मैले भनिदिएँ।

२) धेरै पोलिराछ पेन किलर थप्न भनिदिनुस् न, मैले ड्युटी डाक्टरलाई पेन किलर थपिदिनु है भनें।
र, तेस्रो कुरा उहाँले मलाई यसो भन्नुभयो–

३) ‘बरु मलाई अर्को अस्पताल लानुस् न ,म बाँच्न चाहन्छु’…
म स्तब्ध भएँ। ढिलो भइसकेको थियो।यसको उत्तर मसँग थिएन किनकि म आफैँ डाक्टर भएकोले थाहा थियो उहाँसँग अब केही क्षण मात्र बाँकी छ। म स्तब्ध भएँ। आङ जिरिङ्ग भयो। ‘लामो लामो श्वास फेर्नुस् है। नआत्तिनुस् है डाक्साबहरुले एकदम राम्रो उपचार गर्नुहुन्छ भनेर म निस्किएँ।’