२८ माघ, एजेन्सी ।
टर्की र सिरियामा पाँच दिनअघि गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २२ हजार ३ सय नाघेको छ । मृतकको सङ्ख्या लगातार बढिरहेको छ । अहिले दुवै देशमा राहत र उद्धार कार्य जारी छ । विश्वभरका राहत एजेन्सीहरू दुवै देशमा राहत कार्यमा संलग्न छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोगान र सिरियाली राष्ट्रपति बसर अल असदले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । अर्दोगानले सोमबारको भूकम्पपछि सरकारले राहतको काममा अपेक्षित तीव्रता दिन नसकेको स्वीकार गरेका छन् । उता सिरियामा भूकम्पपीडितका लागि गएको राष्ट्रसंघीय राहत टर्कीको क्रसिङ प्वाइन्टमा पुगेको छ ।
चीनबाट पनि आपत्कालीन चिकित्सा सामग्री बोकेको एउटा विमान सिरिया पुगिसकेको छ । तर राहत सामग्री ढिलो आउनुको कारणले राहतकर्मीमा निराशा छ । सिरियाको नागरिक रक्षा संगठन ह्वाइट हेल्मेट्सले सिरियाको अवस्था ‘धेरै विनाशकारी’ भएको बताएको छ ।
दुबै देशका उद्धारकर्मीहरूले भग्नावशेषमा फसेका मानिसहरूलाई खोज्न सक्दो प्रयास गरिरहेका छन् । तर, अहिले यसमा बाँच्ने आशा घट्दै गएको छ । यद्यपि केही चमत्कारहरू पनि भइरहेका छन् । टर्कीको दक्षिणी हाते प्रान्तमा एउटा पाँच तले भवनमा पुरिएका छ जना मानिसलाई जिउँदै बाहिर निकालिएको छ ।
सिरियाका स्वास्थ्य मन्त्री हसन अल गब्बासले संयुक्त राष्ट्रसङ्घ, रेडक्रसको अन्तर्राष्ट्रिय समिति र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई सहयोगका निम्ति आह्वान गरेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सिरियन रेड क्रिसेन्टलाई आपत्कालीन मानवीय सहायतास्वरूप दुई लाख अमेरिकी डलर नगद उपलब्ध गराएको छ ।
साथै समितले भूकम्प प्रभावित क्षेत्रमा थप सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । श्रीलङ्काले पनि भूकम्प प्रभावित टर्कीमा उद्धारमा सघाउन सैनिक टोली पठाउने भएको छ । राष्ट्रसङ्घीय मानवीय कार्यमा सघाउन सैनिक चिकित्सक एवम् इन्जिनियर पठाइने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।