१ फागुन, काठमाण्डौ ।
नयाँ वर्ष २०८० मा हिन्दुहरुका सबैजसो चाड करिब १५ दिन पछाडि सर्ने भएका छन् । नयाँ वर्षको दसैं कात्तिकमा पर्ने भएको छ । हरितालिका तीजको व्रत असोजमा पर्न गएको छ । २०८० सालको घटस्थापना असोज २८ गते हुनेछ । विजयादशमी कात्तिक ७ मा पर्ने छ ।
यो वर्षको घटस्थापना असोज १० मै परेको थियो । त्यसै अनुरुप आउने वर्षको तिहार पनि करिब १५ दिन धकेलिने छ । साउनमा अधिक मास पर्न गएकाले सोही बमोजिम अरु चाड पछि सर्ने भएका हुन् । श्रावण कृष्णपक्ष असार १९ बाटै सुरु हुनेछ । साउन २ देखि १६ गतेसम्म अधिक श्रावण कृष्णमास सुरु हुन्छ ।
फेरि साउन १७ देखि ३१ सम्म अधिक श्रावण कृष्णपक्ष परेको छ । फेरि साउन ३२ देखि भदौ १४ सम्म श्रावण शुक्लपक्ष परे अनुसार पात्रो बदलिएको छ । असार १९ देखि भदौ १४ सम्म एउटै मास पर्न गएकाले यसलाई अधिक मास अर्थात् मलमास भन्ने गरिन्छ ।
भदौ १४ सम्म तिथिका आधारमा ‘श्रावण मास’ नै पर्ने भएको हुँदा आउने सालका सबै चाडहरु यो वर्षको भन्दा कम्तिमा १५ दिन पछाडि धकेलिन गएका हुन् । यसरी धकेलिने क्रममा ०८० सालमा चैते दसैं नै नहुने भएको छ । ०८० सालको चतुर्थी तिथिमै चैत्र मास सकिने भएकाले चैते दसैं २०८१ सालको वैशाखमा सर्ने भएको हो ।
पञ्चाङ्ग निर्णायक समितिले तयार गरेको २०८० सालको पात्रोमा साउन एक महिना मलमास परेकोले दशैं एक महिना पर सरेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताएका छन् । विसं २०८० सालमा व्रतबन्ध र विवाहको साइत धेरै रहेका छन् ।
वैशाख २४, जेठ ८, १०, २२ र २५ चैत ७, ८ र १४ गरी ८ वटा व्रतबन्धको साइत परेको छ । विवाहको साइत पनि झण्डै १५ भन्दा बढी परेका छन् । वैशाख १९, २०, २७ र २८, जेठ २, ६, ७, १५, १६, २०, २२, २४ र २९, असार ७, ८ र ११ गते विवाहको साइत रहेको छ ।
त्यसै गरी मंसिर १२, १३, १८, २१, २३, २८ देखि ३०, माघ २, १६, १७, २१, २३ र २९, र फागुन १९ र २१देखि २४ सम्म विवाहको साइत परेको छ ।समितिका कार्यकारी निर्देशक ढुंगेलले पञ्चाङ्गकार, विश्वविद्यालयका विज्ञ, ज्योतिष विज्ञलगायत सबैको राय र सुझावका आधारमा पात्रो तयार गरेको बताएका छन् ।