एजेन्सी,भदौ १४
फारोस्थित आइल्याण्ड अफ वेगरमा गत जुलाई ३० तारखेमा भएको घटनाको आश्चर्यजनक तस्वीर सार्वजनिक भएको छ ।लाग्न सक्छ कसरी समुद्रमा त्यति धेरै रगत पोखियो र समुद्रको पानी नै रातो भयो ?
तर, त्यो पानी पोखिएको नभई स्थानीय मानिसहरुले समुद्रमा एकैठाउँ जम्मा भएका ठूलो संख्याका ह्वेलमाछा मारेपछि समुद्रको पानी रगताम्य भएको हो ।पाइलट ह्वेल प्रजातिको ह्वेलमाछा ठूलो संख्यामा मारिएका छन् । पाइलट ह्वेलको मासु तथा बोसो फारो टापुमा राष्ट्रिय परिकारकै रुपमा रहेको छ ।
समाचार अनुसार मानिसहरुले एक दिनमै झण्डै एक सय वटा ह्वेल तथा डलफिन मारेका छन् । उक्त द्विपसमूहमा हरेक वर्ष ह्वेलको सिकारका लागि ठूलो संख्यामा मानिसहरु आउने गर्दछन् । ह्वेलको यस्तो दर्दनाक सिकार फारो टापुमा वैध छ ।
सरकारी नियमअनुसार नै मारिएका दर्जनौँ ह्वेल तथा रगताम्य समुद्रको तस्वीर सोसल मिडियामा सार्वजनिक भएसँगै तीव्र आलोचना भैरहेको छ । कतिपय संस्थाहरुले फारो टापुलाई अराजक देशको उपमा दिएका छन् । यस्तो क्रूर व्यवहार नरोकिएसम्म फारोलाई अन्तर्राष्ट्रिय खेलकुद लगायतका समारोहहरुमा भाग लिनबाट प्रतिबन्ध लगाउनुपर्ने उनीहरुको माग छ ।