१३ फागुन,काठमाण्डौ ।
शुक्रबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित सत्तापक्षका दलहरुले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै औपचारिक रुपमा वर्तमान एमाले र माओवादी केन्द्रको गठबन्धन टुटेको छ । बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी थिए ।
आठ दलले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका हुन् । नयाँ गठबन्धनमा रहेका प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको कार्यकाललाई लिएर पनि सहमति भएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छुट्टै बैठक बसेर को को कति कति समय प्रधानमन्त्री बन्ने भन्ने टुंगो लगाएका छन् ।
जसअनुसार पहिलो साढे दुई वर्षको कार्यकाल प्रचण्ड, दोस्रो एक वर्ष माधव नेपाल र तेस्रोमा बाँकी साढे एक वर्ष देउवाले सरकार चलाउने र कांग्रेसले चुनाव गर्ने सहमति भएको बताइएको छ । उपराष्ट्रपति भने जसपाले पाउने सहमति भएको छ । जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपतिको उमेद्वार हुनेछन् ।
हिजोको ८ दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले जनताको चाहनाअनुसार अघि बढ्नु पर्ने बताउँदै नयाँ राजनीतिक यात्रा सुरू भएको बताएका थिए । यद्यपी ८ दलीय गठबन्धन बन्नुको मूल कारण नै केन्द्रदेखि प्रदेशसम्मको शक्ति बाँडफाँटमा सहमति जुटेर सम्भव भएको हो ।
यससंगै नेकपा एमालेसहित ७ दलीय सत्ता साझेदार दल शुक्रबारबाट छिन्नभिन्न भएको नेताहरू दाबी गर्छन् । यद्यपी एमालेलाई सरकारमै राख्ने अन्तिमसम्म प्रयास गरिने प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताएका छन् । नयाँ परिस्थितिबारे उनले भने, ’अब राष्ट्रिय सहमतिको सरकार बन्ने दिशातिर राजनीति गयो।’
तर एमाले सरकार छोडेको हकमा भने नयाँ कोर्स सुरु हुने उनको भनाइ छ । ’त्यसो हुँदा केन्द्रदेखि प्रदेशसम्म्मको सरकार फेरबदल गर्नुपर्छ,’ । यस्तै माओवादी केन्द्रले अहिले लिएको मन्त्रालय र प्रदेशको नेतृत्व परिवर्तन नहुने पनि उनले बताएका छन् ।