जङ्गलको डढेलो बस्तीमा पस्दा १४ घर जले

Members of Nepal's army try to control a forest fire at Shivapuri National Park overlooking Kathmandu, as forest fires have raged many areas in Nepal contributing to worst air quality in the bowl shaped Kathmandu, Nepal April 11, 2021. REUTERS/Navesh Chitrakar

१३ फागुन, काठमाण्डौ ।
अहिलेको समय मौसम परिवर्तनको समय हो । अब बिस्तारै प्रि–मनसुनी गतिविधि सुरु हुने मौसमविद्हरुले बताएका छन् । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई हिउँदयाम मानिन्छ । हिउँदयाम सकिएपछि प्रि–मनसुन सुरु हुन्छ । यसपालिको हिउँदले सुक्खा निकै बढाएको छ ।

किनभने यो हिउँदमा खासै वर्षा हुन सकेको छैन । जसका कारण बालीनाली, पशु चरनमा समस्या भएको छ । ठाउँ ठाउँमा पानीका मुहान सुकेका छन् । हिउँ र पानी नपरेकाले यसपाली बाली उत्पादनमा पनि कमि आउँने चिन्ता बढाएको छ । हिउँदयाम सकिएर सुरु हुने प्रि–मनसुनमा यसै पनि सुक्खा हुने, चट्याङ पर्ने, तीव्र गतिमा हावाहुरी चल्ने र आगलगाीका घटना बढ्ने गरेका छन् ।

यसमा सचेत रहन मौसमविद्को सुझाव रहेको छ । यसैविच, यसपटक हिउँदामा पानी नपरेर सुख्खा बढेपछि प्रि मनसुन सुरु हुनु अगावै तेह्रथुमको खैरेनी निबुटार जङ्गलमा सुरु भएको डढेलो बस्तीमा पस्दा शुक्रबार १४ घर जलेर नष्ट भएका छन् । तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर ६ चुहानडाँडाको हात्तीखर्कमा लागेको डढेलोलाई बस्ती प्रवेश गर्न नदिन अहिले पनि सुरक्षाकर्मी र स्थानीयवासीले पहल गरिरहेका छन् ।

डढेलोबाट अरु बस्तीलाई जोगाउन नेपाली सेना, प्रहरी लगायत स्थानीयले रातभर प्रयास गरेका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिएका छन् । झाडी रहेको जङ्गलमा डढेलो धेरै फैलिएकोले तत्काल नियन्त्रणमा गर्न कठिन भएकाले बस्ती जोगाउने प्रयास भइरहेको उनले बताए ।

जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदा नजिकका अरु बस्तीसमेत जोखिममा छन् । शुक्रबार डढेलो बस्तीमा प्रवेश गर्दा सबै खरका घर जलेका छन् । खरको छाना भएका घरहरुमा डढेलोको आगो पुगेपछि निभाउनै नसकिएको अध्यक्ष सापकोटाले बताए ।

उनले भने ‘सेना, प्रहरी र स्थानीयले सक्दो प्रयास गर्दा पनि सकिएन, दमकल लगिएको भए पनि बस्तीमा पुग्न सकेन, माथिबाट हानेको पानीको फोहराले काम गरेन ।’ शुक्रबार आगो निभाउने क्रममा ५० वर्षकी याङ्डोल्मा तामाङ घाइते भएकी छन् । घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ ।

१४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्षले जानकारी दिए । आगलागीबाट नौ परिवारको ४१ जना विस्थापित भएका छन् । घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागीबाट सोमबहादुर तामाङ, वीरधन घिसिङ, आशबहादुर घिसिङ, भीमबहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको छ ।

दधिराम वाइबाको घरमा बस्दै आउनुभएका दोर्जे बल, दलबहादुर तामाङको घरमा बस्दै आउनुभएका सुवास घिसिङ र अमरबहादुर वाइबाको घरमा बस्दै आउनुभएका लामामणि तामाङको घरसँगै अन्नपात र लत्ताकपडा नष्ट भएको छ । राईबहादुर तामाङ, डिकमान तामाङ, शङ्खर योञ्जन, जसबहादुर घिसिङ र भक्तबहादुर वाइबाको खाली घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीयका गोठमा रहेका पशुचौपाया जलेर मरेका छन् ।