१६ चैत, काठमाण्डौ ।
वैशाख १० मा तीनवटा निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि दलहरुले उम्मेदवारको नाम टुंगो लगाउँने क्रम चलिरहँदा विहीबार एक्कासी अर्थशास्त्री डा. स्वर्णिम वाग्लेको चर्चा भयो । कांग्रेसका नेता रहेका वाग्ले तनहुँ १ बाट उपचुनावमा उम्मेदवार बन्न लागेका खबरहरु बाहिरिएका छन् ।
तर उनी कांग्रेसबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावमा लड्न लागेको सूचना बाहिरिएको छ । वाग्ले स्वयंले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित कांग्रेसका ४ नेतालाई आफू कांग्रेसमा नरहेको सन्देश पठाएका छन् । उनको यो सन्देशले पनि वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ–१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेको थप पुष्टी गरेको छ ।
यही सन्दर्भमा वाग्लेले महामन्त्रीद्वयसँगै नेताहरु शेखर कोइराला र डा. गोविन्द राज पोखरेललाई एसएमएस पठाएर आफू कांग्रेसमा नरहेको बताएका छन् । ‘शेरबहादुर–आरजु कांग्रेसमा रहिन’ भन्दै उनले भविष्यमा यी ४ नेता नेतृत्वमा पुगेमा पुनः सहकार्य हुने सन्देश पठाएको एक नेताले जानकारी दिए ।
स्वर्णिमको एसएमएस आएपछि महामन्त्रीद्वय र अरु नेताहरुले निरन्तर सम्पर्कको प्रयास गरेका छन् । यो सँगै उनले काग्रेस त्यागेको पत्रपनि बाहिरिएको छ । पत्रमा उनले कांग्रेसप्रति अपार सद्भावका बावजुद आरजु गिरोहको हेपाइले कांग्रेसमा बस्न नसकेको उल्लेख गरेका छ ।
उनले नेताहरुलाई भेटेर कुरा राख्दा कांग्रेस नछोड्न आग्रह गर्ने भन्दै आफू निगाह कुरेर नबस्ने उल्लेख गरेका छन् । डा. वाग्लेले समय तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै डेलिभरीको प्रयासमा लागेको बताएका छन् । वाग्लेले अन्तिममा लेखेका छन्, कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ ।
स्वर्णिम रास्वपाबाट उपचुनावमा उम्मेदवार बन्ने मनस्थितिमा पुगिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मंसिरको चुनावमै स्वर्णिमलाई काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्न प्रस्ताव गरेको थियो । तर त्यतिबेला कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा रहेका स्वर्णिमले अस्वीकार गरेका थिए ।
स्वर्णिम कांग्रेसबाटै उम्मेदवारको आकांक्षी भए पनि उनले टिकट पाएका थिएनन् । यससंगै अब तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन रोचक बन्ने देखिएको छ । कांग्रेसले बिहीबारमात्रै गोविन्द भट्टराईलाई त्यस क्षेत्रमा उम्मेदवार बनाउने निर्णय लिएको छ ।
यस्तोमा रास्वपाले अर्थविद् डा. स्वर्णिम वाग्ले उम्मेदवार बन्नसक्ने सूचीको पहिलो नम्बरमा राखेको छ । स्वर्णिम तनहुँ १ का मतदाताको मनस्थिति बुझ्न व्यस्त रहेकाले निर्णयमा केही समय लाग्ने भएको छ । वाग्ले रास्वपा सांसद डा. शिशिर खनालसँगै त्यहाँका मतदातासँग संवादमा जुटिरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई तनहुँबाट उपचुनाव उम्मेदवार बनाउन कुरा भइरहेको बताएका छन् । रास्वपाले यसअघि नै तनुहँ १, चितवन २ र बारा २ मा एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय लिइसकेको छ ।