२१ चैत, एजेन्सी ।
नेटोले आफ्ना कर्मचारीहरुलाई यसले उपलब्ध गराएको उपकरणहरुमा सुरक्षाको विषयलाई लिएर टिकटक डाउनलोड गर्न एवं प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । शुक्रबार नेटोले आफ्ना कर्मचारीहरुलाई यस्तो सूचना पठाएको हो । तर, आन्तरिक सुरक्षा व्यवस्थाका कारण यसअघि नै पनि नेटोका उपकरणहरुमा टिकटकको प्रयोग नरहेको बताइएको छ ।
“नेटोका लागि साइबर सुरक्षा सबैभन्दा महत्वपूर्ण हो । नेटोले यसका लागि आवश्यकता एपहरुको मापदण्ड तोकेको छ । र, टिकटक यसका उपकरणहरुमा पहुँचयोग्य छैन,” नेटोका एक अधिकारीलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । चिनियाँ सरकारले टिकटक प्रयोगकर्ताहरूको तथ्यांकमा पहुँच पुर्याउन सक्ने भन्दै यसमाथि प्रतिबन्ध लगाउने सबैभन्दा ठूलो अन्तरसरकारी निकाय नेटो बनेको छ।
यसअघि, अमेरिका, बेलायत, नर्वे, युरोपेली संसद् र अन्य राष्ट्रहरूले सरकारी उपकरणहरुमा टिकटकमाथि प्रतिबन्ध लगाएका छन् । केही दिनअघि अमेरिकी संसदीय समितिमा बोल्दै टिकटकका सीईओ शाउ च्यूले कम्पनी बेइजिङबाट पूर्णरूपमा स्वतन्त्र भएकोमा जोड दिएका थिए । अमेरिकाले देशभर टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ।
उसले प्रतिबन्धबाट बच्न टिकटको शेयर अमेरिकालाई समेत उपलब्ध गराउनु पर्ने शर्त राखेको छ । टिकटकलाई प्रतिबन्ध लगाउने प्रस्ताव अहिले अमेरिकी संसदमा छलफलकै क्रममा रहेको छ । टिकटकलाई प्रतिबन्ध लगाइएको उत्तर एट्लान्टिक सन्धि संगठन नेटो एक रक्षा गठबन्धन हो। यो वर्ष १९४९ मा गठन भएको थियो।
यो संगठनमा अमेरिका, बेलायत, क्यानडा र फ्रान्स जस्ता देशहरू सामेल छन्। यदि कसैले यस संगठनका देशहरूमा आक्रमण गरेमा सबै सदस्य राष्ट्रहरूले एकअर्कालाई सहयोग गर्नेछन् र विरोधी देशलाई मिलेर आक्रमण गर्नेछन्। युरोपलाई रुसबाट जोगाउन नेटोको सुरुवात भएको थियो र आज नेटोमा जम्मा ३० सदस्य राष्ट्र छन् । जुन अब फिन्ल्याण्ड समेत आबद्ध भएपछि बढेर ३१ पुग्नेछ ।