२१ चैत एजेन्सी ।
बंगलादेशको मुख्य कपडा बजार बंगबजारमा भीषण आगलागी भएको छ। फर्स्ट सर्विभ कन्ट्रो रुमका ड्युटी अधिकारी रफी अल फारुकले आगो बिहान ६ बजे लागेको बताएका छन्। उक्त बजारमा चार हजारभन्दा बढी पसल छन्। आगलागिपछि सबै दमकललाई त्यहीँ केन्द्रित गरिएको छ। अहिलेसम्म ४७ गाडीले आगो निभाइरहेका छन्।
आगो आसपासको बजारमा समेत फैलिन थालेको छ। थोक र खुद्रा पसल भएको उक्त बजार प्रमुख ब्यापारिक केन्द्रमध्ये एक हो। आगलागीको कारण अहिलेसम्म थाहा भएको छैन । त्यस्तै अहिलेसम्म मानवीय क्षति पनि नभएको खबर छ । प्रत्यक्षदर्शीलाई उदृत गर्दै डेलीस्टारले जनाए अनुसार बजारका पसलका सञ्चालकले आगलागीको खबर सुन्नेबित्तिकै सामान हटाउन थालेका थिए ।
आगलागीको कारण सर्ट सर्किट हुन सक्ने बताइएको छ । आगलागी बिहानै परेकोले त्यहाँ मानिसको उपस्थिति थिएन । यसले भयानक दुर्घटना टरेको बताइएको छ । उद्धार अधिकारीहरूले जानकारी पाएलगत्तै टोलीहरू दुई मिनेटमै त्यहाँ पुगिसकेको बताएका छन् । त्यसयता आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
तर अहिलेसम्म आगो पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । थाहा पाउने बित्तिकै मानिसहरू आ–आफ्नो पसलतिर दौडेका थिए । तर, त्यतिन्जेल आगो ठूलो क्षेत्रमा फैलिसकेको थियो । आगलागी पछि आपतकालीन अलार्म लगातार बजिरहेको थियो। प्रहरी त्यहाँबाट मानिसलाई हटाउने काममा जुटेको थियो ।
इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)ले आगो नियन्त्रणका लागि एक हेलिकोप्टरसहित बंगलादेशका स्थल र वायु सेनाको संयुक्त टोली समेत खटाएको छ ।आगो निभाउनका लागि बजार क्षेत्र वरपरका सडकमा यातायात सेवा बन्द गरिएको छ । ढाकामा कपडापसलहरुमा आगलागीका घटनाहरु अधिक हुने गर्दछन् ।