२४ चैत, काठमाण्डौ ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का बीचमा पार्टी एकता हुने भएको छ । शुक्रवार नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) ले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीका बीचमा एकता गर्ने निर्णय भएको जानकारी दिइएका हुन् ।
पत्रकार सम्मेलनमा नेकपा(मशाल) सँग पनि एकताको लागि वार्ता जारी रहेकोले निकट भविष्यमा मशालसँग पनि एकता हुने बताइएको छ । पार्टी एकताको आधारहरु माक्र्सवाद–लेनिनवाद–माओवादको मार्गनिर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आम कार्यक्रम, वैज्ञानिक समाजवादको आधारभुत कार्यक्रम रहेको जनाइएको छ ।
त्यस्तै क्रान्तिमा बल प्रयोगको अनिवार्य भुमिका, जनवादी केन्द्रियताको संगठन सञ्चालन पद्धती, वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको अन्त्य लगायत पार्टी एकताका आधारहरु रहेको नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा(क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले सबै क्रान्तिकारी कम्युनिष्ट र वामपन्थीहरु संगठित भएर तेस्रो जनआन्दोलनको घोषणा गर्नुपर्ने बताए । उनले सबै कम्युनिष्टहरुलाई एकता प्रक्रियाभन्दा बाहिर नबस्न आग्रह गरे ।
उनले अब क्रान्तिकारी कम्युनिष्टहरु देशको मुल प्रवाह बन्ने बताए । त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि आफूहरु एकतावद्ध हुन लागेको बताए । पार्टी एकताको घोषणा भने आगामी अन्तर्राष्ट्रिय मजदुर दिवसको दिनमा गरिने जानकारी गराइएको छ ।