१ वैशाख , काठमाण्डौ ।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि पार्टी नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्न सुरु गरेका छन् । अब हरेक शुक्रबार उनलाई नेता तथा कार्यकर्ताले पेरिसडाँडामा भेट्न सक्नेछन् । प्रधानमन्त्री र मन्त्रीहरूलाई आफ्नो काममा अबरोध नहोस् भनेर केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्तासँग भेट्ने व्यवस्था मिलाइएको हो ।
माओवादी केन्द्रले यसअघि नै २०८० साल वैशाख १ गतेदेखि प्रधानमन्त्री प्रचण्डसँगै माओवादीबाट मन्त्री बनेकाहरूलाई केन्द्रीय कार्यालयमा भेट्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो । यही क्रममा प्रधानमन्त्री प्रचण्ड आज बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । माओवादी मन्त्रीहरूलाई भने अपराह्न ४ बजेदेखि ६ बजेसम्म भेट्ने समय मिलाइएको छ ।
केही समय अघि मात्रै सत्तारुढ दल नेपाली काग्रेसका महामन्त्री गगन थापाले संसदमा विशेष समय लिएर बोल्दै प्रधानमन्त्रीलाई फुर्सदिलो देखेर आफू आश्चर्यमा परेको टिप्पणी गरेका थिए । प्रधानमन्त्री सार्वजनिक समारोह र भेटवार्तामा व्यस्त रहेको विषयमा उनले कटाक्ष गरेका थिए । यसैबीच प्रधानमन्त्री प्रचण्डले सरकारमा भएका कारण अवस्था ठिकै जस्तै लागेपनि सहज नरहेको बताएका छन्।
पेरिसडाँडामा कार्यकर्तासँग छलफल गर्दै उनले विभिन्न तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताए। ‘अहिले हामी सरकारमा छौँ, मन्त्री छौँ, प्रधानमन्त्री छौँ, त्यसकारण उल्टिँदैन होला जस्तो लाग्न पनि सक्छ, म बुझिने गरी भन्न चाहन्छु, यो स्थिति सहज छैन,’ उनले भने। वुद्धि नपु¥याउने र जिम्मेवारी बोध गरेर संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्ने उनले बताएका छन् ।