२ वैशाख, एजेन्सी ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबाट निलम्बित सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीलाई सघाउन आग्रह गरेका छन् । चितवन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका रविले पार्टीले कारबाही गरेका कारण विभिन्न चेतावनी दिनुको साटो पार्टीको चुनावी अभियानलाई सघाउन अनुरोध गरेका हुन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि समानुपातिक सांसद ढाकाकुमारलाई रास्वपाले साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निलम्बन गर्नाका साथै उनी सांसद पदमा नरहेको पत्र संसद् सचिवालयमा पठाइसकेको छ ।
तर ढाकाकुमार आफू अन्यायमा परेको दाबी गर्दै मन्त्री बन्नका लागि आफूसँग पैसा माग्ने सभापति लामिछानेको कोर टिम सार्वजनिक गर्ने चेतावनी दिइरहेका छन् । साथै उनले आफूलाई सांसद पदबाट हटाएकोविरुद्ध मुद्दा हाल्ने पनि भनिरहेका छन् । यसै सन्दर्भमा शनिबार चितवन २ मा आयोजित चुनावी सभामा बोल्दै सभापति लामिछानले ढाकाकुमारलाई आफ्नो अभियानमा सघाउन अनुरोध गरेका हुन् ।
‘जो साथी बाहिरिनुभएको छ, उहाँलाई यति मात्र भन्न चाहन्छु– यो यात्रामा हामीलाई सघाउनुहोला, मुद्दा हाल्छु, यो गर्छु त्यो गर्छु नभन्नुहोला।’ पुराना दलले आफ्नो नेताका भ्रष्टाचारसम्बन्धी अडिओ÷भिडिओ सार्वजनिक गरे पनि संरक्षण गरेको तर आफ्नो पार्टीले शून्य सहनशीलता अपनाएर अडिओ सार्वजनिक हुनासाथ ढाकाकुमारलाई कारबाही गरेको बताए ।
आफ्नो पार्टी भ्रष्टाचारमुक्त देश बनाउने अभियानमा रहेको दाबी पनि उनले गरे । ढाकाकुमारलाई संकेत गर्दै उनले अगाडि थपे, ‘यो यात्रामा धोका दिनेलाई महापाप हुनेछ।’ आफूलाई पार्टीले गरेको कारबाही स्वीकारेर छेउ लाग्न लामिछानेको आग्रह थियो ।
’आफूले योगदान दिएको यात्रमा आफू साइड लागेर, आफू अन्त बसेर पनि तपाईंले सघाउनु होला । भोलि अदालतले क्लिन चिट दिएछ भने नेपाली जनताले भोट दिएर जिताउँछन् । हामी तपाईंलाई संसद्मा स्वागत गरौंला । यो यात्रा बिथोल्ने काम नगर्नुस् ।’
सांसद श्रेष्ठले भने आफूलाई कारबाही गरिएको कदमविरुद्ध अदालत जाने तयारीमा रहेका छन् । यस्तो तयारीका बेलामा सभापति लामिछानेले अन्य कदम नचाल्न आग्रह गरेका हुन् ।