करिअरकै सर्वाधिक रन बनाएका सन्दीप प्लेयर अफ द म्याच

करिअरकै सर्वाधिक रन बनाएका सन्दीप प्लेयर अफ द म्याच

१४ वैशाख , काठमाण्डौ ।
एसीसी प्रिमियर कप अन्तर्गत कतार विरुद्धको खेलमा नेपालले शानदार जित हासिल गरेको छ। सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले हराएको हो। नेपालका स्पिनर लामिछाने कतारविरुद्धको खेलका प्लेयर अफ द म्याच चुनिएका छन् ।

समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा पुर्याउन शानदार अलराउन्ड प्रदर्शन गरेका सन्दीप खेलको प्लेयर अफ द म्याच चुनिएका हुन् । नेपाललाई जिताउन करिअरको उत्कृष्ट ब्याटिङको साथै घातक बलिङ गर्दै पाँच विकेट लिएका सन्दीप प्लेयर अफ द म्याच चुनिएका छन् ।

यसअघिका दुई खेलमा नेपालको प्लेयर अफ द म्याच कुशल मल्ल चुनिएका थिए । जितको लागि १ सय ५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा अल आउट भयो । कतारलाई सस्तैमा अल आउट गर्न सन्दीपले सर्वाधिक पाँच विकेट लिए ।

सन्दीप लामिछानेले ९.१ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ५ विकेट लिएपछि मध्यम योगफलमै पनि नेपालले फराकिलो जित हात पारेको थियो । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.३ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो ।

नेपालका सन्दीपले ५८ बलमा ६ चौकासहित सर्वाधिक ४२ रनमा नट आउट रहेका थिए । एक समय २८ ओभरमा १११–९ को अवस्थामा पुगेको नेपाललाई ललित र सन्दीपले अन्तिम विकेटका लागि ४६ रनको साझेदारी गर्दै सम्मानजनक योगफलमा पुर्याएका थिए । सन्दीपले तल्लोक्रममा शानदार प्रदर्शन गरेपछि नेपालले ब्याटिङमा आफ्नो लाज बचाएको थियो ।

प्रमुख ब्याटर चल्न नसकेपनि बलर सन्दीपले प्रतिस्पर्धात्मक योगफलको आधार तय गरेका थिए । सन्दीपको यो कुनैपनि अन्तर्राष्ट्रिय खेलको उच्च प्रदर्शन हो । यसअघि सन्दीपले टियु क्रिकेट मैदानमै २०१९ नोभेम्बरमा मेरिलेबोन क्रिकेट क्रिकेट क्लब (एमसिसी) विरुद्ध पहिलो इनिङमा २१ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ३९ रनमा अविजित थिए । घरेलु क्रिकेटमा भने यो संयुक्त उच्च प्रदर्शन हो ।

सन्दीपले २०२१ को काठमाडौं मेयर्स कपमा मेयर्स ११ बाट कप्तानी गर्दै बागमती प्रदेशविरुद्ध २० बलमा ६ छक्कासहित ४२ रनमा आउट भएका थिए । सन्दीपले केही दिन अघि मात्रै एकदिवसीय खेलमा सर्वाधिक छिटो ४२ खेलमा १०० विकेट लिने विश्वकीर्तिमान आफ्नो नाममा लेखाएका छन् । ओडिआईमा उनले अहिले सम्म ४२ खेलमा १०२ रन बनाइसकेका छन् । यस्तै ओडिआईमा ब्याटिङ तर्फ सन्दीपले ४२ खेलमा २ सय ८४ रन बनाएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.