१५ वैशाख , काठमाण्डौ ।
चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज सांसदको शपथ लिएका छन्। सिंहदरबारमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसदहरू लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन्।
१० मा भएको उपनिर्वाचनबाट लामिछाने र वाग्ले प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। बारा २ बाट निर्वाचित सांसद उपेन्द्र यादवको शपथ भने पछि हुने संघीय संसद सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछाने गत मंसिर ४ को चुनावबाट पनि प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएपछि चितवन २ मा उपनिर्वाचन भएको थियो। लामिछाने सोही क्षेत्रबाट फेरि निर्वाचित भएका हुन्। गत मङ्सिर ४ मा भएको निर्वाचनबाट तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपति उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो ।
साथै बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएको र चितवन–२ बाट लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएकाले उपनिर्वाचन गरिएको थियो । रवि र स्वर्णिम नै आफ्ना प्रतिस्पर्धी उम्मेदवारलाई भारी मतान्तरले पराजित गरी निर्वाचित भएका हुन् ।
सपथपछि उनीहरु दुवै जना संभवत आजको संसद बैठकमा सहभागि हुन् सक्नेछन् । प्रतिनिधि सभाको बैठक आज शुक्रवार बस्दैछ । शुक्रवार दिउँसो १ बजे बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय भएको छ ।
शुक्रवारको बैठकमा सभामुख देवराज घिमिरेले १० वटा विषयगत समितिमा रहने प्रतिनिधि सभाका सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । प्रमुख राजनीतिक दलहरूबीच समितिको नेतृत्वको सम्बन्धमा भागबण्डा मिलेपछि प्रतिनिधिसभा बैठकबाट सदस्यहरू मनोनयन गरिँदैछ ।