१६ वैशाख, काठमाण्डौ ।
एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल र कुवेतविरुद्धको खेल वर्षाका कारण स्थगित भएको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभर ब्याटिङ गरेपछि पानी परेर खेल स्थगित भएको हो । खेल स्थगित हुनुअघि कुवेतले ६ विकेट गुमाएर ३७ रन बनाएको छ ।
नेपालका करण केसी एक्लैले ५ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिएका छन् । यसअघि नेपालले ब्याटिङ गर्दा पनि २३.२ ओभर ब्याटिङ गरेपछि खेल वर्षाका कारण स्थगित भएको थियो । त्यसपछि पानी पर्न छाडेपछि खेललाई ४२ ओभरमा घटाइएको थियो । अब खेल हुन नसके नेपाल फाइनलमा पुग्ने भएको छ ।
खेलको ५ः २४ कट अफ टाइम रहेको छ । अर्थात उक्त समयमा खेल सकि सक्नु पर्ने हुन्छ । डकवर्थ लेविस पद्धतिको आधारमा नजिता निकाल्न अझै १२ ओभर खेल्नुपर्छ । तर टियुमा अहिले भारी वर्षा सुरु भएको छ । साढे चार बजे सम्म खेल सुरु नभएमा बाँकी १२ ओभर खेल हुने सम्भावना देखिदैन ।
खेल हुन नसकेमा सुपर हुनुपर्छ । सुपर ओभर पनि पाँच बजेभित्र सुरु हुनुपर्छ । तर सुपर ओभर पनि हुन सकेन भने नेपाल समूह विजेताको कारण फाइनलमा पुग्नेछ । अहिले टियुमा भारी वर्षा हुँदा खेल र सुपर ओभर हुने सम्भावना कम देखिन्छ । त्यसैले नेपाल फाइनलमा पुग्ने उच्च सम्भावना देखिन्छ ।