१६ वैशाख, एजेन्सी ।
पछिल्लो पटक रुसले गरेको आक्रमणमा परी पाँच जना बालबालिकासहित २६ युक्रेनीले ज्यान गुमाएका छन् । युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिक मारेको युक्रेनी अधिकारीहरूले बताएका छन् । मध्य युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो ।
भत्केका भवनका भग्नावशेषबाट मृतकका शव निकालिएका हृदयविदारक दृश्य एएफपीका पत्रकारले देखेको बताएका छन् । भग्नावेशषबाट बालबालिकाका शव पनि निकालिएका थिए । यो वर्ष शिशिर यामको प्रारम्भमा ऊर्जा र इन्धन प्रवाह गर्ने युक्रेनी पूर्वाधारमा आक्रमण गरेर रुसले जनजीवन कष्टकर पारेको थियो ।
केही समयका लागि आक्रमण बन्द गरेको रुसले नागरिक संरचना तथा आवासमा पुनः हमला थालेको छ । करिब ८० हजार बासिन्दा रहेको लुहान्स्कमा पनि आक्रमण भएको छ । पूर्वी लुहान्स्क सहर रुसको नियन्त्रणमा छ । रुसी क्षेप्यास्त्रहरू मध्य सहर डिनिप्रोमा पनि बर्सिएका छन् । गत जनवरीमा उक्त सहरको आवासीय भवनमा भएको क्षेप्यास्त्र आक्रमणमा ४० जनाले ज्यान गुमाएका थिए ।
यसैबीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का सहयोगी र साझेदार देशहरूले युक्रेनलाई दिन प्रतिज्ञा गरेको ९८ प्रतिशत हतियार दिइसकेको बताएको छ । नेटोका प्रमुख एवं महासचिव जेन्स स्टोलटेनबर्गले बिहीबार युक्रेनलाई १,५५० बख्तरबन्द सवारीसाधन र २३० वटा ट्यांक उपलब्ध गराइएको बताएका हुन् ।
यी हतियारले युक्रेनलाई रुसविरुद्धको लडाँइमा ठूलो फाइदा पुर्याएको र भूमि फिर्ता ल्याउनसमेत मद्दत गरेको उनको भनाइ छ । “हामीले कुल नौवटा नयाँ युक्रेनी सशस्त्र ब्रिगेडलाई तालिम दिएर तयार पारेका छौँ । यसले युक्रेनलाई कब्जा गरिएको क्षेत्र फिर्ता लिन जारी प्रयासलाई बलियो बनाउँछ,” स्टोल्टेनबर्गले पत्रकार सम्मेलनमा भने ।
नयाँ ब्रिगेडहरूमा करिब ३० हजारभन्दा बढी सेना रहने अनुमान गरिएको छ । युक्रेनलाई यसका सहयोगी मुलुकले ठूलो मात्रामा गोला बारूद पठाएका छन् । स्वीडेन र अष्ट्रेलियाजस्ता केही नेटो साझेदार देशहरूले सशस्त्र गाडीहरू पनि उपलब्ध गराएको छ ।
नेटो सदस्य राष्ट्रहरूले विमान विध्वंसक प्रणाली र तोपखाना उपलब्ध गराएको छ भने पोल्याण्ड र चेक रिपब्किले सोभियत संघका बेला बनेका मिग–२९ विमान उपलब्ध गराएको छ । स्टोल्टेनबर्गले युक्रेनलाई गरिएको यो अभूतपूर्व सैन्य सहयोग भएको तर रूसलाई कम आंकलन गर्न नहुने बताएका छन् ।