२० वैशाख, काठमाण्डौ ।
नेपाल सरकारले एसिसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोलीका खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रिमियर कप विजेता टोलीका हरेक सदस्य खेलाडी र मुख्य प्रशिक्षक मोन्टि देशाईलाई जनही ६ लाख दिने घोषणा गरेको हो ।
त्यस्तै टोलीका अन्य व्यवस्थापक र सहायक प्रशिक्षकहरुलाई भने समान तीन लाख दिने भएको छ । यस्तै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन आगामी आर्थिक वर्षको बजेट विनियोजनमा विशेष प्राथमिकतामा राख्ने निर्णय समेत भएको संचार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।
मन्त्रिपरिषदको बैठकबाट एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी रू. ६ लाख र अफिसियललाई जनही रू. ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको यस निर्णयले नेपाली क्रिकेट खेलाडीहरूलाई प्रोत्साहन र क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीलाई हरेक वर्ष वर्गीकरण गर्दै पारिश्रमिक दिने गरेको छ । १८ पुरुष र १२ महिला गरी ३० खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ । जसअनुसार पुरुषतर्फ ‘ए’ श्रेणीका खेलाडीले मासिक ५० हजार, ‘बी’ले ४० हजार र ‘सी’ श्रेणीकाले मासिक ३० हजार पारिश्रमिक पाउँछन् ।
‘ए’ श्रेणीमा कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख छन । ‘बी’मा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन । त्यस्तै, ‘सी’ श्रेणीमा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्सन झा, अर्जुन साउद, अविनाश बोहरा, ललित राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव छन ।यसअघि ‘ए’ श्रेणीमा रहेका सन्दीप लामिछानेलाई अदालतमा मुद्दा चलेपछि वर्गीकरणमा समावेश गरिएको थिएन ।
महिला खेलाडीमा भने ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा परेकाले क्रमशः १५, १२ र १० हजार पाउँछन । ‘ए’ श्रेणीमा रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा छन । ‘बी’मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य छन् भने ‘सी’ श्रेणीमा कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी वेगम रहेका छन ।