२१ वैशाख, काठमाण्डौ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ज्यान लिने प्रयास गरेको भन्ने क्रेमलिनको आरोप अस्वीकार गरेका छन् । फिनल्यान्ड भ्रमणमा रहेका जेलेन्स्कीले भने, “हामी पुटिन र मस्कोमाथि आक्रमण गर्दैनौँ। हामी आफ्नो भूभागका लागि लड्छौँ। हामी हाम्रा गाउँ र सहरहरूको रक्षा गरिरहेका छौँ,”।
यसअघि रुसी राष्ट्रपतिको कार्यालयले पुटिनको ज्यान लिने उद्देश्यले भएको ड्रोन आक्रमण निस्तेज पारिएको बताएको थियो । यो आक्रमणपछि अब रुसले आवश्यक ठानिए जुनसुकै समय र स्थानमा पनि प्रतिकार गर्न सक्ने चेतावनी दिएको छ । अनलाइनमा फैलिएका अपुष्ट भिडिओहरूमा क्रेमलिन भनिने मस्कोस्थित एउटा ठूलो सरकारी भवनबाट बुधवार धुवाँ निस्कँदै गरेको देखिन्छ ।
दोस्रो भिडिओमा संसद् भवनमाथि एउटा सानो विस्फोट देखिन्छ र दुई जना मानिसहरू भवनको गुम्बजमाथि देखा पर्छन् । रुसी राष्ट्रपति कार्यालयले युक्रेनबाट क्रेमलिनस्थित पुटिनको निवासमाथि आक्रमणको प्रयास भएको भन्दै त्यसलाई योजनाबद्ध आतङ्कवादी हमला र राष्ट्रपतिको हत्या प्रयासको संज्ञा दिएको छ ।
अधिकारीहरूले उक्त भवनलाई निशाना बनाइरहेका दुई वटा ड्रोनहरू इलेक्ट्रोनिक रडारको प्रयोग गरेर निष्क्रिय पारिएको बताएका छन् । युक्रेनविरुद्ध युद्ध सुरु भएयता पहिलोपटक रुसले राष्ट्रपतिको हत्या प्रयासजस्तो गम्भीर आक्रमण पछाडि कीभको हात भएको आरोप लगाएको हो ।
राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले पुटिन त्यस बेला क्रेमलिनमा नरहेको बताएका छन् । ‘क्रेमलिनले यी कार्यहरूलाई नियोजित आतंकवादी कार्यको रूपमा मूल्यांकन गरेको छ र विजय दिवस, मे ९ को परेडको पूर्वसन्ध्यामा राष्ट्रपतिको हत्या प्रयासको रूपमा मूल्यांकन गरेको छ,’ रुसी सरकारी समाचार संस्था आरआईएले लेखेको छ ।
घटनापछि पुटिनले आफ्नो कार्यतालिका भने परिवर्तन गरेका छ्रैनन् ।पूर्वनिर्धारित कार्यतालिकाअनुसार उनले काम गरिरहेका छन् । रुसका पूर्व राष्ट्रपति दिमित्री मेदवेदेवले भोलोदिमिर जेलेन्स्कीको पतनका लागि आह्वान गरेका छन् । “हामी कीभ आतंकवादी शासनलाई रोक्न र नष्ट गर्न सक्षम हतियारहरू प्रयोगको गर्न माग गर्नेछौं,” पुटिनका निकट सहयोगी मेदवेदेवले भने ।
रुसका प्रधानमन्त्रीसमेत रहेका मेदवेदेवले विश्वयुद्धको खतरा बढेको चेतावनीसमेत दिएका छन् । “विश्व बिराम परेको छ र सम्भवतः नयाँ विश्वयुद्धको संघारमा छ,” रुसको सुरक्षा परिषद्का उपसभापतिसमेत रहेका मेदवेदेवले भनेका छन् । उता अमेरिकाले पनि रुसको दाबीलाई धेरै सावधानीपूर्वक हेरिरहेको बताएको छ ।
अब बुधवार जे भएको भए पनि यसपछि रुसको प्रतिक्रिया के हुन्छ भन्ने चासो बढेको छ । कतिपय अधिकारीहरूले कडा कदम चालिनुपर्ने बताएका छन् । रुसी भूभागमा हुने आक्रमण पछि त्यहाँका सैनिक जनरलहरूले कैयौँ पटक कडा प्रतिवादको चेतावनी दिएका छन् । युक्रेनी राष्ट्रपतिका सल्लाहकारले उक्त घटनाले रुसले युक्रेनमा ठूलो स्तरको आक्रमणको तयारी गरिरहेको सङ्केत गरेको बताएका छन् ।