२४ वैशाख, काठमाण्डौ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा रोकिएको नागरिकता विधेयकको बारेमा बुझ्न कानुनविद्सँग छलफल गर्ने भएका छन् । राजनीतिक दलबीच सहमति जुट्न नसकेपनि नागरिकता विधेयक संसद्ले दोस्रोपटक बहुमतको बलमा पारित गरेर गत भदौमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रमाणीकरणका लागि पठाइएको थियो ।
तर, भण्डारीले नै प्रमाणीकरण अस्वीकार गरेपछि विधेयक अलपत्र परेको थियो । यही प्रकरणले ततकालीन राष्ट्रपति भण्डारीले आलोचना समेत सहनु परेको थियो । अहिले निर्वाचनपछि सरकार र राष्ट्रपति परिवर्तन भएको पछिल्लो अवस्थामा आइतबार त्यही विधेयकको अवस्था, कानुनी हैसियत के हुन्छ भनेर कानुनविद्सँग छलफल गर्न लागेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
यसका लागि राष्ट्रपतिले दिउँसो १ बजे शीतलनिवासमा कानुनविद्हरुलाई छलफलका लागि बोलाएको बुझिएको छ । शनिबार बसेको सत्ता गठबन्धनको बैठकले तत्कालीन भण्डारीले रोकेको नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपति पौडेललाई अनुरोध गर्ने निर्णय गरेको थियो । सोहीअनुसार राष्ट्रपतिले आज परामर्श थालेका हुन् ।
कानुन व्यवसायीहरुले राष्ट्रपति पौडेलले तत्कालीन राष्ट्रपतिले रोकेको विधेयक प्रमाणीकरण गर्न सक्ने बताइरहेका छन् । विधेयकलाई शितल निवासमै होल्ड गरेकी पूर्व राष्ट्रपति भण्डारी शीतल निवासबाट बाहिरिएपछि रामचन्द्र पौडेल राष्ट्रपति निवासमा पुगेका छन् । सत्तारुढ दलले आफ्नै गठबन्धनबाट राष्ट्रपति बनेकाले अब नागरिकता विधेयक जारी हुने सार्वजनिक रुपमा नै बताउदै आएका छन् ।
हाल सो विधेयक प्रमाणीकरण नहुँदा नागरिकताबिहीनहरुले नागरिकता पाउन नसकेको भनेर आन्दोलनसमेत जारी राखेका छन् । तर नागरिकता विधेयक आवश्यक भएपनि अहिलेकै विधेयकले नागरिकताको वितरणमा दूरुपयोग हुन् सक्ने भन्दै एमाले लगायतका केही दलले यो विधेयकको विरोध गर्दै आएका छन् ।
यसैबीच नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । झुटा विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे विस्तृत जानकारी दिन उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्ने भएको छ । आरोपीहरुसँग भारतीय र नेपाली नागरिकता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पक्राउ परेकाहरु नेपालमा ब्यापार व्यवसाय गर्दै आएका थिए ।