२५ वैशाख, एजेन्सी ।
भारतको केरलामा एक दुर्घटनामा परि करिब २ दर्जन पर्यटकले ज्यान गुमाएका छन् । केरलामा पर्यटक चढेको एक डुंगा दुर्घटना हुँदा २१ जनाले ज्यान गुमाएका हुन् । आइतबार साँझ ५ बजे मलमपुरम जिल्लाको तानुरस्थित थुवलथिरम समुद्री तटमा भएको दुर्घटनामा एक जना अझैँ बेपत्ता छन् ।
२१ जनाको शव निकालिएको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । क्षमताभन्दा बढी यात्रुका कारण डुंगा दुर्घटना भएको बताइएको छ । डुंगामा ४० जना पर्यटक सवार थिए । दुर्घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुः व्यक्त गरेका छन् । उनले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका आफन्तलाई २–२ लाख राहतस्वरुप उपलब्ध गराउने पनि घोषणा गरेका छन् ।
उता कंगोमा बाढी र पहिरोमा परी ४ सय जनाको मृत्यु भएको छ । किवु प्रान्तको कालेह क्षेत्रमा बिहीबार भारी वर्षापछि विभिन्न ठाउँमा गएको बाढी र पहिरोमा आइतबारसम्म मृत्यु हुनेको संख्या ४ सय नाघेको स्थानीय अधिकारीले बताएका छन् । कालेह क्षेत्रका प्रशासक थोमस बाकेङ्गाले ३९४ जनाको शव निकालेको बताएका छन् ।
जसमध्ये २ सय जनाको मात्रै सनाखत भएको छ । बाढी र पहिरोले सबैभन्दा बढी बुसुसु र न्यामुकुबी गाउँमा क्षति पुगेको बताइएको छ । बाकेङ्गाका अनुसार बुसुसुमा १४२ र न्यामुकुबीमा १३२ जनाको मृत्यु भएको छ । यता पेरूको दक्षिणी क्षेत्रमा रहेको एक सुनखानीमा आगलागी हुँदा कम्तीमा २७ जना कामदारको मृत्यु भएको छ ।
एरिक्विपा क्षेत्रमा रहेको ला एस्पेरान्जा खानीभित्रको सुरुङमा शनिबार सर्ट सर्किटका कारण आगलागी भएको प्रहरी र सरकारी अधिवक्ताको कार्यालयले जनाएको छ । सरकारी अभियोजक जियोभान्नी माटोसले च्यानल एन टेलिभिजनलाई दिएको जानकारीअनुसार खानीभित्र २७ जनाको मृत्यु भएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार सुदूर कोन्डेसुयोस प्रान्तको खानीमा विस्फोट भएपछि आगलागी सुरु भएको हो । प्रहरीले मृतकको विवरण संकलन गरेपछि मात्रै आगलागीको खबर आइतबार प्रकाशित गरेको हो ।