विराटनगर,भदौ १९
साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण आजदेखि बङ्गलादेशको ढाकामा शुरु भएको छ । साफ सुजुकी कपको उद्घाटन खेल अहिले नेपाल र पाकिस्तानबीच भईरहेको छ ।
दिउँसो ३ : ४५ बजे सुरु भएको खेलको पहिलो हाफ नेपाल १–० ले पछि परेको छ । पाकिस्तानविरुद्धको खेलमा तुलानात्मक रुपमा हावी देखिएपनि आफ्नै गल्तिमा नेपाल खेलमा पछि परेको थियो ।
३६ औं मिनेटमा हसन नविद बसिरको पेनाल्टी गोलमा नेपाल पछि परेको हो । विराज महर्जनले महम्मद रिजाजलाई पेनाल्टी बक्समा फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो । विराजले पहेलो कार्डको दर्शन गरेका थिए ।
खेलमा पछि पर्नुअघि नेपालले केहि अवसर पाएर पनि त्यसलाई गोलमा परिणत गर्न सकेन । १३ औं मिनेटमा विमल घर्तीमगरको क्रसमा नवयुग श्रेष्ठको हेड पोस्टको धेरै टाढाबाट बाहिरयो । २५ औं मिनेटमा विराजको क्रस सोझै किपरको हातमा परेको थियो । ३० औं मिनेटमा नवयुगको फिलतो प्रहार क्रसबारको निक्कै माथिबाट बाहिरिएको थियो ।
चार वर्षको फिफा प्रतिबन्ध पछि पाकिस्तानको सिनियर टोली पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिरहेको छ । नेपाल र पाकिस्तानबीच पाँच वर्षपछिको यो पहिलो भेट हो । सन् २०१३ मा साफ च्याम्पियनसिपमा एकै समूहमा परेका यी दुई टोलीबीचको समूह चरणको खेल १–१ को बराबरीमा टुंगिएको थियो । त्यो खेलमा विमल घर्ती मगरले बराबरी गोल गरेका थिए । राष्ट्रिय टोलीका लागि विमलको त्यो पहिलो गोल थियो ।
सार्क गोल्ड कप र साफ च्याम्पियनसिपमा गरि नेपाल र पाकिस्तानबीच ६ पल्ट प्रतिस्पर्धा भएको छ । जसमा २ खेलमा जित र १ खेलमा हार बेहोरेको नेपालले ३ खेलमा बराबरी गरेको छ । समूह एमा नेपाल, पाकिस्तानसँगै भुटान र आयोजक रहेका छन् । अर्को समूहमा सर्वाधिक सफल टोली भारत, श्रीलंका र माल्दिभ्स छन् । आजै हुने अर्को खेलमा भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।