काठमाडौं,भदौ १९
१०० मेगावाट क्षमताको तामाकोसी पाँचौ जलविद्युत आयोजना बनाउन प्रवद्र्धक तामाकोसी जलविद्युत कम्पनी लिमिटडले ठेकेदार नियुक्तिको प्रक्रिया शुरु गरेको छ । आगामी वर्षको मध्यदेखि आयोजनाको सिभिल निर्माणको काम थाल्नका लागि कम्पनीले सिभिल संरचना र हाइड्रो मेकानिकल उपकरण आपूर्तिका लागि ठेकेदार चयनको काम शुरु गरेको हो । कम्पनीले ठेकेदारको पूर्व योग्यता छनौट (पिक्यु) का लागि आब्हान गरेको छ ।
यसअघि परामर्शदाता नियुत्तिका लागि पिक्यु आब्हान गरेको थियो । कम्पनीले आयोजना निर्माण व्यवस्थापन र सुपरिवेक्षणको काम शुरु गर्न परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाएको हो । परामर्शदाताका लागि तामाकोसीले आशयपत्र (ईओआई) मागेको छ । आशयपत्र पेश गर्ने परामर्शदाताबीच प्रतिस्पर्धा गराइने छ ।
२ महिनाभित्र परामर्शदाता नियुक्त भइसक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नसिवमान प्रधानले बताए । आगामी सन् २०१९ को मध्यबाट आयोजना निर्माण शुरु भई सन् २०२३ मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजना २ प्याकेजमा निर्माण हुने भएको छ । पहिलो प्याकेजमा सिभिल र हाइड्रामेकानिकल र दोस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन निर्माणको काम राखिएको छ ।
आयोजना बनाउन सरकारले चीनबाट १५ अर्ब रुपैयाँ अर्थात १५ करोड डलर वैदेशिक लगानी ल्याउन प्रक्रिया शुरु गरेको अर्थ मन्त्रालयले जनाएको छ ।आयोजनामा ऋण लगानीका लागि एसियन इन्फास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) बाट ऋण लिन प्रक्रिया शुरु भएको हो । आयोजना बनाउन करिव १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । एआईआईबीबाट ऋण लिनका लागि अर्थ मन्त्रालयमार्फत प्रक्रिया अघि बढेको छ ।
आयोजनामा अहिले नेपाल विद्युत प्राधिकरणले लगानी गरिरहेको छ । आयोजनाको ६८ प्रतिशत स्वामित्व विद्युत प्राधिकरण र ३२ प्रतिशत सर्वसाधारणको हुने गरी लगानी संरचना तयार पारिएको छ । यसमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दा र बाँकी सर्वसाधारणलाई सेयर आईपीओ निष्कासन गर्ने प्रधानले जानकारी दिए ।
निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट निस्कने पानी सिधै सुरुङमा पठाएर ९९।८ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । आयोजनाको ८ किलोमिटर लामो सुरुङ रहेको छ । यस्तै आयोजनाबाट उत्पादन हुने बिजुली खरिद बिक्री (पीपीए) का लागि प्रारम्भीक छलफल भइरहेको उनले बताए ।(विकास न्युजबाट)