२ करोड घुस काण्डमा ढाकाकुमारको सांसद पद जोगिन्छ कि जान्छ ? आज छिनोफानो!

२ करोड घुस काण्डमा ढाकाकुमारको सांसद पद जोगिन्छ कि जान्छ ? आज छिनोफानो!

५ जेठ, काठमाण्डौ ।
मन्त्री बन्नका लागि २ करोड घुस मागेको अडियो बाहिरिएपछि सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ हुँदैछ। मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग घुस मागेको अडियो बाहिरिएपछि श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गर्दै सांसद पदबाट हटाएको थियो।

पार्टीको उक्त निर्णयलाई चुनौती दिँदै श्रेष्ठले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे निर्णय गर्ने छ । दलको निर्णयको आधारमा संसद् सचिवालयले उनलाई सांसद पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई दिएपछि श्रेष्ठले उक्त निर्णय बदर हुनुपर्ने माग गर्दै वैशाख २४ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

उक्त रिटको दोस्रो सुनुवाइको पेसी न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ। पेसी तेस्रो नम्बरमा रहेको छ। यसअघि वैशाख २५ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अर्को छलफल नभएसम्मका लागि भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई हटाउने निर्णय र नयाँ सिफारिस भएका सांसदलाई कुनै पनि काम नगर्न भनि अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। कारबाहीमा परेका श्रेष्ठको स्थानमा रास्वपाले एसिड पीडित विन्दावासीनी कंसाकारको नाम सिफारिस गरेको थियो।

रास्वपाको सिफारिसअनुसार निर्वाचन आयोगले सिफारिस गरे पनि सर्वोच्चको आदेशपछि सपथ खुवाउन रोकिएको थियो। सर्वोच्चले दोस्रो सुनुवाइमा यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई अन्तरिमको रुपमा जारी गर्ने कि नगर्ने निर्णय गर्ने छ। सर्वोच्चले मुद्दाको फैसला नभएसम्म अन्तरिम जारी राखेमा श्रेष्ठको सांसद पद कायम हुने छ भने खारेज गरेमा नयाँ सिफारिस भएकी कंसकारले सपथ लिने बाटो खुल्नेछ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.