५ जेठ, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन उप्रधानमन्त्रीदेखि बहालवाला सचिव समेत छन् । पक्राउ परेकाहरूलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई विदेश पठाइदिने भन्दै रकम असुल गरी ठगी गरेको उजुरीपछि यो प्रकरणमा अनुसन्धान जारी छ । यो प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक फरार छन् ।
आरोपितमाथि प्रहरीले अनुसन्धान गरी त्यसको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउनेछ । त्यसपछि सरकारी वकिलको कार्यालयले प्रहरीको प्रतिवेदन अध्ययन गरी प्रक्रिया अगाडि बढाउनेछ ।
अहिलेसम्म पक्राउ परेका १६ आरोपित :
१. टोपबहादुर रायमाझी – तत्कालीन उपप्रधानमन्त्री
२. बालकृष्ण खाँण – पूर्वगृहमन्त्री
३. टेकनारायण पाण्डे – बहालवाला सचिव (तत्कालीन गृहसचिव)
४. इन्द्रजित राई – तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार
५. आङटावा शेर्पा – तत्कालीन सभासद
६. शमशेर मियाँ – नेपाल हज समितिका अध्यक्ष
७. टेकनाथ रिजाल – भुटानी शरणार्थी नेता
८. सन्दीप रायमाझी – तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा
९. नरेन्द्र केसी – पूर्वगृहमन्त्री बालकृष्ण खाँणका पीए
१०. रामशरण केसी – बिचौलिया
११. गोविन्द चौधरी – बिचौलिया
१२. केशव दुलाल – बिचौलिया (तत्कालीन उपप्रधानमन्त्री सुजाता कोइरालाका पीए)
१३. सानु भण्डारी – बिचौलिया
१४. टंक गुरुङ – बिचौलिया
१५. सन्देश शर्मा पोखरेल – बिचौलिया
१६. सागर थुलुङ – बिचौलिया
भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपाली नागरिकसँग पैसा असुलेर भएको ठगी प्रकरणमा पक्राउ परेका नेपाल हज समितिका अध्यक्ष शमशेर मिया र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको भने आज बयान गर्न लागिएको छ।
बिहीबार पक्राउ परेका यी दुबै जनालाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं लैजान लागिएको प्रहरीले जनाएको छ। उनीहरुको बयान सकिएपछि मात्रै प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको छ। बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंले मियालाई सिंहदरबार भित्रबाट पक्राउ गरेको थियो भने रिजाललाई झापामा पक्राउ गरेर काठमाडौं ल्याइएको थियो।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै १ अर्ब रुपैयाँ भन्दा बढी ठगी प्रकरणमा उनीहरुको संलग्नता देखिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। पक्राउ परेका दुबै जनालाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले म्याद दिएको थियो।