१३ जेठ, काठमाण्डौ ।
हाल नेपालमा सक्रिय रहेको पश्चिमी निम्न चापीय प्रणाली साथै स्थानीय वायुको प्रभावका कारण आज पनि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ । पश्चिमी वायु र स्थानीय वायुका कारण देशभर नै आंशिक बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम र कोशी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना धेरै छ । आज ठूलो पानी पर्ने सम्भावना छैन तर प्रि मनसुनको समय भएकाले कतै कतै थोरै ठाउँभित्रै भारी वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् । आज देशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रुजन लामिछानेका अनुसार, तराईका थोरै स्थानमा पनि हल्का वर्षासँगै हावाहुरी चल्न सक्छ । तराईका केही जिल्लामा हावाहुरीको सम्भावना रहेकाले पूर्वसतर्कता अपनाउन उनले आग्रह पनि गरे । राति पनि पहाडका केही स्थान र तराईका थोरै स्थानमा हल्का वर्षा हुने गणितीय पूर्वानुमान छ ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव छ । उक्त वायुका कारण बितेको साता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको महाशाखाले जनाएको छ । यसपटक प्रि मनसुनको समयमा पश्चिमी वायु धेरै सक्रिय रहेकाले मनसुन छिटो भित्रने अनुमान गरिएको तर पक्का भइनसकेको पनि महाशाखाले जनाएको छ ।