१७ जेठ, एजेन्सी ।
अमेरिका र दक्षिण कोरियाबाट आउन सक्ने खतरा पत्ता लगाउन भन्दै उत्तर कोरियाले निर्माण गरेको जासुसी भूउपग्रहको प्रक्षेपण असफल भएको छ । दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले अन्तरिक्षमा पठाउन लागेको भूउपग्रह रकेटसहित टुक्रा टुक्रा बन्दै समुद्रमा खसेको पाइएको छ ।
उत्तर कोरियाबाट मंगलबार प्रक्षेपण भएको रकेट दक्षिण कोरियाको इयोच्योङ टापुदेखि दुई सय किलोमिटर टाढा समुद्रमा खसेको भेटिएको हो । दक्षिण कोरियाले उत्तर कोरियाली रकेट नष्ट भएपछिका टुक्राहरूको फोटो सार्वजनिक गरेको छ । उत्तर कोरियाको समाचार संस्था केसीएनएनले पनि इन्जिन र इन्धन प्रणालीमा अस्थिरता निम्तदा ‘चोल्लिमा–१’ भूउपग्रहको प्रक्षेपण असफल भएको पुष्टि गरेको छ ।
उत्तर कोरियाले सन् २०१६ यता पहिलोपटक र सबै प्रयास गरेर छैठौँपटक जासुसी भूउपग्रह अन्तरिक्षमा तैनाथ गर्ने प्रयत्न गरेको हो । पछिल्ला दिनहरूमा अमेरिका र दक्षिण कोरियाका सेनाले उत्तर कोरियाली सीमा क्षेत्रमा संयुक्त युद्ध अभ्यास गरिरहेका छन् ।
उत्तरका सर्वोच्च नेता किम जोङ उनले यी दुई राष्ट्रको युद्ध अभ्यासलाई आफ्नो देशमाथि आक्रमणको प्रशिक्षण र योजना भनिरहेका छन् । हाल उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र परीक्षण कार्यक्रमलाई तीव्रता दिइरहेको छ भने यी दुई राष्ट्रबाट उत्पन्न हुने खतराको निगरानी गर्न भन्दै उसले जासुसी भूउपग्रह प्रक्षेपणको प्रयास गरिरहेको हो ।
तर सन् २०१६ पछिको पहिलो प्रयासमै उत्तर कोरिया अन्तरिक्षमा भूउपग्रह तैनाथ गर्न असफल हुन पुग्यो । मंगलबार मात्र दक्षिण कोरियाले अमेरिका र आफ्नो गुप्तचर विभागले उत्तर कोरियाली जासुसी भूउपग्रहको विषयमा चनाखो भएर नजिकैबाट निगरानी गरिरहेको बताएको थियो ।
सोमबार मात्र जापानले भूउपग्रहको नाममा प्योङयाङले क्षेप्यास्त्रहरू परीक्षण गरिरहेको आरोप लगाएको थियो । आफ्ना भूमिवरपर ती क्षेप्यास्त्रहरू आएको खण्डमा त्यसलाई आफूले नष्ट गरिदिने पनि जापानको भनाइ छ ।