१९ जेठ, काठमाण्डौ ।
लगातार बढ्दै गएको सुनको भाउले दिनहुँ नयाँ रेकर्ड राख्न थालेको छ । बजेट घोषणापछि बढ्न थालेको सुनको भाउ उकालो लागेको लाग्यै छ । बुधबार छापावाल सुनको भाउ प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढेको थियो ।
बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट १५ प्रतिशत पु¥याएकाले नेपालमा मूल्य उच्च दरले बढेको हो । बुधबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । बिहीबार बुधबारको तुलनामा सुनको मूल्य ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय पुगेको थियो ।
शुक्रबार भने बिहीबारको तुलनामा सुनको मूल्य ८ सयले बढेर १ लाख १३ हजार ३ सय पुगेको छ । यो अहिलेसम्मकै महँगो भएको भाउ हो । यसरी एक हप्तामै नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजारले बढेको छ । त्यस्तै शुक्रबार नेपाली बजारमा तेजाबी सुनको मूल्य १ लाख १२ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ ।
शुक्रबार चाँदी पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १ हजार ४ सय ३५ रुपैयाँ पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार सुनको भाउ अझै बढ्ने सम्भावना छ ।
उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको र सुनको आयातमा लाग्ने भन्सार दर समेत सरकारले बढाएकाले भाउ अझै बढ्ने सम्भावना छ ।गएको १५ गते सार्वजनिक भएको बजेटमा सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार दर बढाएको छ ।
बजेट अघि नेपालमा प्रतिकिलो सुनमा ८ लाख ५० हजार रुपैयाँ र प्रतिकिलो चाँदीमा ८ हजार ५ सय भन्सार लाग्दै आएको छ । बजेट वक्तव्य पछि सुन र चाँदी दुवैमा १५ प्रतिशत भन्सार र थप २ प्रतिशत विलासिता कर लाग्ने भएको छ ।