२९ जेठ,एजेन्सी ।
युक्रेनले दक्षिण पूर्वमा रहेका तीन गाउँलाई रुसको कब्जाबाट मुक्त गरेको दाबी गरेको छ । रुसले कब्जा गरेको भूमि फिर्ता ल्याउन युक्रेनले सुरु गरेको काउन्टर अफेन्सिभ (प्रत्याक्रमण)को यो पहिलो जित मानिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा युक्रेनी सेनाले दोनेट्स्क क्षेत्रको ब्लाहोदात्ने र नेस्कुच्ने छिमेकी बस्तीमा जित मनाइरहेको देखिएको छ ।

किभका उपरक्षामन्त्रीले मकारिभका गाउँलाई पनि फिर्ता ल्याइएको बताएका छन् । शनिबार युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले प्रत्याक्रमण सुरु भएको बताएका थिए । युक्रेनको ६८ औं जेगर ब्रिगेडले आइतबार एक भिडियो सार्वजनिक गरेको बताइएको छ । उक्त भिडियोमा बम विष्फोट भइरहेको भवनमा युक्रेनको झण्डा फहराइएको देखिन्छ ।

ब्रिगेडले भिडियोमा डोनेट्स्क क्षेत्रको ब्लाहोड्नेमा आफ्नो उपस्थिति रहेको स्वीकार गरेको छ। तर, भिडियो पुष्टि हुन सकेको छैन । अर्कोतर्फ, उपरक्षा मन्त्री हन्ना मलियारले जारी गरेको विज्ञप्तिमा युक्रेनी सेनाले दक्षिणी मोर्चाको दुई दिशामा ३०० देखि १,५०० मिटरको दक्षिणमा रहेको अर्को गाउँ मकारिभकालाई पनि आफ्नो कब्जामा लिएको बताएको छ।

युक्रेनको टेरिटोरियल डिफेन्स युनिटले टेलिग्राममा एक अपुष्ट फुटेज जारी गरेको थियो। यसले युक्रेनी पोष्टहरू नजिकको गाउँ, नेस्कुच्नेमा युक्रेनी सैनिकहरूले आफ्नो झण्डा समातेको देखाउँछ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि सैनिकको प्रशंसा गरेका छन् । यद्यपि उनले लडाईको जानकारी प्राप्त भएको क्षेत्रबारे भने केही बताएका छैनन् ।

जेलेन्स्कीले भने, ’अवश्य पनि, म आजको दिनका लागि हाम्रा सैनिकहरूप्रति आभारी छु।’ डोनेट्स्क र जापोरिझिया क्षेत्रको सिमानामा रहेको ब्लाहोदनेमा रहेको जेगर ब्रिगेडका प्रवक्ता मिरोस्लाभ सेमेन्युकले आक्रमणकारी टोली धेरै भवनहरूमा प्रवेश गरेको बताएका छन् । उनले ६ जना रुसी सैनिकलाई पक्राउ गरिएको पनि बताएका छन् ।

अब युक्रेनी सेनाको अर्को निशाना उरोजाइने गाउँ रहेको र यसमा पनि विजयी हुने बताएको छ । त्यसपछि यो अझै दक्षिणतिर सर्नेछ। उता रुसको रक्षा मन्त्रालयले आइतवार यस क्षेत्रमा युक्रेनको आक्रमण असफल सावित भएकोमा जोड दिएको छ। विगत २४ घण्टामा डोनेट्स्क र जापोरिजियाको दक्षिणमा फ्रन्ट लाइनमा आक्रमण गर्ने युक्रेनी प्रयासहरू पूर्ण रूपमा असफल भएको रुसी विज्ञप्तिमा उल्लेख छ।

Scroll to Top